सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

  ०७५ वैशाख ६ गते

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत दोलखाले वैशाख ५ गते जनही ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश कमलराज विष्टको इजलासले मेलुङ गाउँपालिका-६ का २१ वर्षीय दिपक श्रेष्ठ, १९ वर्षीय मनोज श्रेष्ठ, १९ वर्षीय राजेन्द्र श्रेष्ठ र मेलुङ गाउँपालिका-७ का २० वर्षीय सञ्जिव श्रेष्ठलाई जनही ११ वर्ष कैद सजायको फैसला सुनाइएको हो । साथै चारैजनाबाट पीडितलाई जनही ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत भएको छ ।

पीडित बालिकालाई आरोपितहरूले ०७२ माघ ८ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ९ गते नै प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा भएको थियो ।

सामूहिक बलात्कार घटनाका आरोपित चारै जनालाई ०७२ माघ १४ गते गिरफ्तार गरिएको थियो । जिल्ला अदालतको ०७२ फागुन ९ गतेको आदेशले आरोपितहरू पुर्पक्षका लागि थुनामा रहेका थिए ।


उद्धव पोखरेल