सामुदायिक स्वास्थ्य एकाईमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

  ०७६ मङ्सिर १६ गते

देवताल गाँउपालिका–१ बडकीफुलबरिया टोलमा रहेको सामुदायिक स्वास्थ्य एकाई दुई महिनादेखि औषधि र स्वास्थ्यकर्मीविहीन हुँदा उपचार गर्न आउने बिरामीलाई समस्या परेकाले तत्काल व्यवस्था मिलाउन स्थानीयले मङ्सिर १२ गते वडा कार्यालय र गाँउपालिकाको कार्यालयमा ज्ञापन–पत्र बुझाइएको छ ।

सामुदायिक स्वास्थ्य एकाईमा कार्यरत अस्थायी कर्मचारीलाई गत असोज २६ गते गाँउपालिकाका अध्यक्ष चन्दनकुमार सिंहले काम गर्न नआउनु भनी हटाएकाले स्वास्थ्यकर्मी खाली भएको स्थानीय २६ वर्षीय रविराज पाण्डेले बताउनु भयो ।

अहेब र अनमी दुई महिनादेखि नरहेको र कार्यालय सहयोगीले उपचार गर्न नसक्ने भएकाले स्वास्थ्य संस्था बन्द रहेको उपचार गर्न आएका २३ वर्षीय अनिश कुमारले बताउनु भयो ।

७५ वर्षीय देवकिलाल साह बिरामी भएर उपचारका लागि स्वास्थ्य एकाईमा जाँदा बोर्ड हटाएको र ताला लगाएकाले आश्चर्य भई उपचार नगराई घर फर्किनु भएको बताउनु भयो ।

स्वास्थ्य एकाई सञ्चालन गर्न वडा कार्यालय र गाँउपालिकाको कार्यालयले बेवास्ता गरेकै कारण ६० वर्षीय समसुदिन मियाँले उपचार गर्न नसकेर रोगपालेर बस्नु परेको बताउनु भयो ।

दैनिक १५ जना नागरिक उपचार गर्न आउने स्वास्थ्य एकाईमा स्वास्थ्यकर्मी र उपचार गर्न औषधि नभएकाले कार्यालयको बोर्ड कार्यालय भित्र लुकाएर राखिएको र कार्यालयमा ताला लगाएको सोही वडाका वडा अध्यक्ष पानालाल साहले बताउनुभयो ।

उहाँले गाँउपालिकाको कार्यालयमा स्वास्थ्यकर्मी र औषधि माग गर्दागर्दै थाकेको बताउनु भयो । उहाँले गाँउपालिकाले चासो नदेखाएको गुनासो गर्नु भयो ।

गाँउपालिकाका अध्यक्ष चन्दनकुमार सिंहले स्वास्थ्यकर्मीका लागि सूचना आह्वान गरेकाले कानुनी प्रक्रिया पुरा गर्न एक वा दुई महिना समय लाग्ने बताउनुभयो ।


भोलानाथ पौडेल