सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा लेखा सहयाक निष्काशित

  ०७६ वैशाख २२ गते

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा सर्केगाड गाउँपालिका–८ को वडा कार्यालयमा कार्यरत ३० वर्षीय सुनाम रोकायालाई वैशाख २१ गते वडा कार्यालयले निष्काशन गरेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को करिब १ लाख रुपियाँ हिनामिना गरेको देखिएपछि वडाअध्यक्ष ट्यारे रोकायाको अध्यक्षतमा बसेको बैठकले सुनामलाई हटाइएको वडासदस्य धनवीर रोकायाले बताए ।

लेखा सहायक रोकायाले वडा कार्यालयको छाप, वडाध्यक्ष ट्यारे रोकायाको छाप, वडा सदस्यहरुको  किर्ते सही गरी स्थानीय सर्वसाधारण जनताको सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको भन्दै सो कार्यालयबाट हटाएको अध्यक्ष ट्यारे रोकायाले बताए ।

वडामा सञ्चालन हुने खर्च रकम लेखाजोखा नगरी एक्लैले काम गरेको भन्दै वडाका स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा निष्काशन गरेको अध्यक्ष रोकायाले बताए ।

जनप्रतिनिधिले नै नियुक्त गरेका लेखा सहायक रोकायाले सबैको किर्ते सही, नक्कली छाप बनाएर रकम हिनामिना गरेपछि सर्केगाड गाउँपालिका–८ का करिब ३५ जना स्थानीय व्यक्तिहरू विभिन्न खाले सरकारी निकायाबाट पाउने भत्ताबट वञ्चित भएको वडा अध्यक्ष रोकायाले बताए ।


नन्द सिंह