सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुँदा समस्या

  ०७६ भदौ २० गते

शैल्यशिखर नगरपालिकाका ज्येष्ठ नागरिकहरूले गत आर्थिक वर्षको तेस्रो चौमासिकमा पाउनुपर्ने  सामाजिक सुरक्षा भत्ता नपाएपछि समस्यामा परेका छन् ।

गत आर्थिक वर्षभित्रै पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नगरपालिकाले समयमै वितरण नगर्दा लक्षित वर्ग (ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, बालबालिका र एकल महिला) समस्यामा परेका हुन् ।

समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा नगरपालिका भित्रका नौ ओटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरू निराश भएका छन् ।

शैल्यशिखर नगरपालिका–४ रानिशिखरका रामपति भट्ट सामाजिक सुरक्षा भत्ता नपाउँदा लुगा कपडा किन्नै समस्या भएको बताउँछन् ।

उनले भने–‘गौराको लागि नयाँ लुगा लगाउने सपना पूरा भएन, अहिले झन् नुन तेल किन्न पनि समस्या हुन लाग्यो ।’

सामाजिक सुरक्षा भत्ता पाउँदै आएका स्थानीय गोपी भट्टले विगतमा गाविस, जिविस हुँदा सहज रूपमा भत्ता पाउने गरेकोमा अहिले सामाजिक सुरक्षा भत्ता पाउन सकस भएको बताए ।

घरदैलोमा पाइने सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्ने भनेपछि बृद्धबृद्धाहरू समस्यामा परेको उनले गुनासो पोखे ।

उनले भने–‘बैङ्कमै पुग्न गाउँबाट तीन घण्टा लाग्छ । उकालो बाटो छ । बैङ्क पुगेपनि भनेअनुसार समयमै काम हुँदैन । लाइन बस्नु पर्छ । रकम बुझ्न झञ्जटिलो छ । बुढेसकालमा दस्तखत पनि मिलाउन कठिन ! पहिले घरघरमा सामाजिक सुरक्षा रकम पाइन्थ्यो । सहज थियो । अहिले त्यही रकम पनि समयमै आउँदैन ।’

वडा नम्बर ४ का वडा अध्यक्ष देवदत्त भट्टले सामाजिक सुरक्षा रकम बारे अनविज्ञता जनाए । ‘ज्येष्ठ नागरिकले हामीलाई सामाजिक सुरक्षा भत्ता रकम माग्ने गर्छन् ।’–उनले भने–‘तर हामीलाई समेत किन वितरण भइरहेको छैन भन्ने बारे जानकारी छैन । एकले अर्कोलाई दोष देखाउँछन् । सामाजिक सुरक्षा रकम वितरणमा बदमासी गरेको आशङ्का छ ।’
शैल्यशिखर नगरपालिका–८ का वडा सचिव मनोरथ जोशीले सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको बैङ्क खातामा जम्मा भएको बताए ।

शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले सामाजिक सुरक्षा भत्ताबापतको रकम समयमै निकासा दिएको बताउँदै बैङ्कमा तथ्याङ्क ‘भेरिफिकेसन’ गर्न समय लागेकाले ढिलाइ भएको बताए ।

गत आर्थिक वर्ष ०७५/०७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा रकम जेठ–असारमै पाउनु पर्नेमा अहिलेसम्म नपाउँदा शैल्यशिखर नगरपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने २ हजार भन्दा बढी व्यक्तिहरू समस्यामा परेका छन् ।


नरेन्द्रसिंह कार्की