सामाजिक सुरक्षा भत्ता वितरण हुँन नसक्दा सेवाग्राही समस्यामा

  ०७४ वैशाख ४ गते

स्थानीय तहको निर्वाचन सम्पन्न भएर नगर तथा गाउँपालिकामा जनप्रतिनिधिहरू आएको १० महिना बितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।

जिल्लाका १० वटै स्थानीय तहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायत समाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीले अन्तिम चौमासिक बित्नै लाग्दासमेत भत्ता नपाए पछि समस्यामा परेका हुन् ।

"सरकारले दिएको बृद्धभत्ताले नुनतेल र बिरामी परेको बेला औषधि ल्याउन हुन्थ्यो यस वर्ष त भत्ता पनि पाइएन, सारै समस्या परेको छ ।"-दोगडाकेदार गाँउपालिका-३ कटौजपानीका कमली दमाईले भनिन् ।

दोगडाकेदार गाउँपालिकामा माथिबाटै समाजिक सुरक्षा बापतको रकम नआएकाले अझै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको भनाई छ । "हामीहरू निर्वाचित भएपछि उक्त रकम नआउँदा समस्या आएको छ । भत्ता पाउने व्यक्तिहरूले पनि पटकपटक सोध्ने गर्छन् । तर भत्ताको रकम नआउँदा वितरण गर्न सकिएको छैन ।"-कार्कीले भने-"अब त नागरिकहरूले पनि हामीहरूलाई दोष लगाउँछन् । हाम्रो समस्या कसले बुझ्ने ?"

पञ्चेश्वर गाउँपालिकामा पहिलो किस्ताको भत्ता वितरण गरिएको भएपनि त्यसपछिको भने वितरण गरिएको छैन । "पहिलो चरणमा त गाउँपालिकाबाटै 'म्यानेज' गरेर वितरण गर्‍यौँ । अब कहाँबाट दिने ? सारै समस्या छ ।"-गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने ।

बैतडीका सबैजसो स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा आयो अब सबै सेवा गाउँबाटै पाइन्छ भनेर खुसी भएका यहाँका सेवाग्राही आफूले पाइरहेको भत्तासमेत नपाउँदा समस्या भएको बताउँछन् ।


नरी बडु