सामाजिक सुरक्षा भत्ता नपाउँदा लक्षित वर्ग मर्कामा

  ०७६ कात्तिक २४ गते

छत्रेश्वरी गाउँपालिकामा लक्षित वर्गले समयमै सामाजिक सुरक्षा भत्ता नपाउँदा मर्कामा परेका छन् । गाउँपालिकाका १ हजार ७ सय बढी लक्षित वर्गका व्यक्तिले यस वर्षको पहिलो चौमासिक भत्ता नपाउँदा समस्या भएको बताएका छन् ।

ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझैसम्म पाउन नसकेको भन्दै उनीहरूले गुनासो गरेका छन् ।

छत्रेश्वरी गाउँपालिका–५ का ७० वर्षीय दुर्गाबहादुर खत्रीले राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता यस वर्ष समयमा उपलब्ध नहुँदा आपूmलाइ समस्या भएको बताए ।

बुढेसकालमा सरकारले हामीजस्ता बुढाबुढीको समस्यालाई मध्यनजर गर्दै भत्ताको व्यवस्था त गर्यो तर समयमा उपलब्ध नगराउँदा आपूmलाइ औषधि उपचार लगायत अन्य कामकाजका लागि समस्या भएको उनले बताए ।

‘स्थानीय सरकार आएपछि सेवा सुविधा छिटो उपलब्ध हुन्छ भन्ने सोचेको थियौँ ।’–उनले भने–‘तर, दशैँ तिहारमा समेत भत्ता पाउन छाडियो ।’

स्थानीय ज्येष्ठ नागरिक कुलबहादुर खत्रीले भने–‘भत्ताको पैसाले पोषिलो खानेकुरा किनेर खाने सोच थियो । तर भत्ता नै पाइएन ।’

रकम निकासा नहुँदा एकल र छुट्टिएर बसेका ज्येष्ठ नागरिकले दैनिकी कसरी चलाउने भन्ने समस्या थपिएको उनको भनाई छ ।

सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ताका लागि रकम निकासा समयमै गरेको तर गाउँपालिकाको ढिलासुस्तीका कारणले आपूmहरूले भत्ता पाउन नसकेको उनले गुनासो गरे ।

कात्तिक  महिनाको सुरूमा नै पाउनुपर्ने भत्ता हालसम्म पनि नपाएपछि लक्षित वर्गले गुनासो गरेका हुन् ।

गाउँपालिकाले भने सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ्ग प्रणालीबाट हुने भएकाले केही ढिला भएको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले अघिल्लो चौमासिकदेखि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लान्तीमा रहेको इन्भेष्टमेन्ट बैङ्कबाट वितरण गर्न थालेकाले केही समय ढिला भएको जानकारी दिए ।

‘पहिलो चौमासिक भत्ता कात्तिकको सुरूमा नै वितरण गरिसक्नुपर्ने हो । तर, बैङ्किङ सिस्टमबाट काम गर्नुपर्ने भएकाले केही ढिला भएको हो ।’–उनले भने ।

उनले यसैसाता भित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको जानकारी दिए । हालसम्म गाउँपालिकाका सात ओटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन ।


मिना बुढाथोकी