सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकको गुनासो

  ०७४ भदौ २९ गते

पोखरिया नगरपालिका–३ का ३० जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएको गुनासो गरेका छन् । यहाँ १ सय २५ जना ज्येष्ठ नागरिक रहेका छन् ।

त्यसमध्ये ९५ जनाले सामाजिक सुरक्षा भत्ता बापतको रकम पाएका छन् । तर, ३० जनाले भने सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका हुन् ।

पोखरिया नगरपालिका–३ का वडाअध्यक्ष अजय साहले वडामा सामाजिक सुरक्षा भत्ता बापत १६ लाख ५९ हजार २ सय रुपियाँ वितरण गरिएको जानकारी दिए ।

उनले रकम अपुग भएपछि यो विषय नगरपालिकामा राखिएको जानकारी दिए । तर, स्थानीयले भने वडाअध्यक्षले राजनीतिक पूर्वाग्रह राखेर सुरक्षा भत्ता नदिएको आरोप लगाएका छन् । उनीहरूले आफ्नो दल भन्दा फरक दलका मान्छे भन्दै सामाजिक सुरक्षा भत्ता नदिएकोले भत्ता नपाएको एक ज्येष्ठ नागरिकले आरोप लगाए ।

पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले ज्येष्ठ नागरिकको नविकरण सूची छुटेको हुनसक्ने भएकोले त्यसको विवरण एकिन गरिने बताए ।

उनले नविकरण सूची अनुसार नै वडाहरूमा बजेट पठाएको बताए । तर, सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकहरूले आर्थिक वर्ष ०७४/०७५ को दुई चौमासिक सम्मको सुरक्षा भत्ता लिएको दावी गरेका छन् । सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले भने स्थानीय सरकारले आफूहरूलाई अन्याय गरेको आरोप लगाएका छन् ।


केसी लामिछाने