सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको ज्येष्ठ नागरिकको गुनासो

  ०७७ भदौ १८ गते

बुढीगंगा नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० का स्थानीय जेष्ठ नागरिकहरुले आर्थिक वर्ष ०७६ / ०७७ को तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वन्चित भएको गुनासो गरेका छन् ।

बुढिगंगा नगरपालिका–८ का जेष्ठ नागरिक खम्म रावलले सामाजिक सुरक्षा भत्ताले जिविकोपार्जन गर्न सहज भएकोमा तेस्रो चौमासिक भत्ता नपाउँदा समस्या भएको गुनासो गर्नु भयो ।

बुढिगंगा नगरपालिका–८ का जेष्ठ नागरिक सेत रावल आफूहरुले आर्थिक वर्ष ०७६ / ०७७ को चार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गर्दै वडा कार्यालयमा दवाव दिदै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो– वडा कार्यालय र नगरपालिकाको लापर्वाहीका कारण सुरक्षा भत्ताबाट वन्चित भएका छौँ । वडाले पहल गरिरहेको बताएको छ । नपाएमा वडा कार्यालयमा पुनः तालाबन्दी गर्ने योजनामा छौँ ।’

बुढीगंगा नगरपालिकाले जेष्ठ नागरिकहरुलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा नम्बर १ देखि ५ सम्मका जेष्ठ नागरिकहरुलाई वितरण गरिएको भएपनि वडा नम्बर ६ देखि १० सम्मका जेष्ठ नागरिकहरुले आर्थिक वर्ष ०७६र०७७ को तेस्रो चौमासिक भत्ता नपाएको बुढीगंगा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टेकबहादुर रावलले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘नगरपालिकामा कर्मचारीलाई सोध्दा रकम अपुग भएको प्रतिक्रिया दिए । बुझ्दै जाँदा लेखा शाखाले समयमा रकम माग नगरेको रहेछ ।’

बुढीगंगा नगरपालिकाका लेखा अधिकृत्त तिलक थापाले पञ्जीकरण बिभागको सामाजिक सुरक्षा महाशाखालाई पटकपटक रकम अपुगको बारेमा टेलिफोन र पत्राचार गरेको भएपनि अर्थमन्त्रालयले रकम ढीलो गरेर असार ३१ गते राति पठाएकोले दोस्रो दिन सो रकम फिर्ता गएकोले जेष्ठ नागरिकहरुले भत्ता नपाएको  बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘सामाजिक सुरक्षा भत्ता नपाएका जेष्ठ नागरिकहरुको हकमा १८ नम्बर फारम भरेर पठाइएको छ । असोज पहिलो हप्तासम्म रकम निकासा भएर आउछ । उहाँहरुलाई वितरण गर्ने योजना छ ।’

बुढीगंगा नगरपालिकाका लेखापाल पूर्ण जैशीले अपुग रकम ढिलो गरी माग गरिएकोले समस्या भएको बताउनु भयो ।

उहाँले भन्नु भयो–‘वर्षमा दुई पटक रकम अध्यावधिक गर्नु पर्ने हुन्छ । दोस्रो पटकको अध्यावधिक माघ महिनामा गर्नु पर्नेमा जेठ महिनामा भयो । जसका कारण ढिलो गरी रकम प्राप्त भयो ।’

बुढीगंगा नगरपालिकाका प्रमुख दीपकबिक्रम शाहले जेष्ठ नागरिकहरुलाई वितरण गरिने सामाजिक सुरक्षा भत्ता अपुग भएको जानकारी पाएपछि अपुग रकम लेखा शाखामार्फत  माग गरिएको भएपनि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट असार ३१ गते मात्रै प्राप्त भएकोले सो रकम फिर्ता पठाउनु परेको जानकारी आफूलाई दिइएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘अन्य प्रक्रियागत समस्याका बारेमा लेखा शाखलाई बढी जानकारी हुन्छ ।’

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बापत जेष्ठ नागरिकलाई मासिक २ हजार, बालबालिकाको पोषण भत्ता बापत ४ सय, असायलाई २ हजार, पूर्ण अपाङ्गलाई २ हजार, आङ्सिक अपाङ्गलाई १ हजार २ सय र एकल महिलालाई २ हजार रुपियाँ मासिक रुपमा उपलब्ध गराउँदै आएको छ ।


पदमबहादुर सिंह