सामाजिक विकास मन्त्रालयद्घारा २९ जना बालबालिकाको उद्दार

   ०७६ पुस २० गते

संविधानमा धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा २,मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा,स्वास्थ्य,पालनपोषण उचित स्याहार,खेलकूद,मनोरञ्जन तथा सर्वाङ्गीर्ण व्यक्तित्व विकासको व्यवस्था गरिएको छ ।

संविधानमा प्रदत्त व्यवस्था कार्यान्वयनका लागि प्रदेश १,सरकारको सामाजिक विकास मन्त्रालयले सडकमा पुगेका बालबालिकाको उद्दारको अभियान सुरूआत गरेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, बालबालिका खोजतलास समन्वय केन्द्रले सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेश १, का मुख्य शहरमा सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्दारका लागि रात्रीकालीन अभियानको सुरूआत गरेको हो ।

अभियान अन्र्तगत पुस १९ गते सुनसरीको धरानबाट १४ जना बालबालिका र झापाको दमकबाट १५ जना बालबालिकाको उद्दार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले सङ्घीय सरकारले सुरूआत गरेको अभियानलाई प्रदेश सरकारले साथ दिएको र त्यसका लागि स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संविधानमा प्रदत्त मौलिक हकलाई कार्यान्वयन गर्न स्थानीय सरकार प्रतिबद्घ रहेको बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुषालले राज्यले बालबालिकालाई विशेष अर्थले हेरेको र बाल अधिकार महासन्धि बमोजिम बालबालिकाको अधिकार रक्षाका लागि राज्य प्रतिवद्घ भएको बताउनुभयो ।

प्रदेश १ का मुख्य शहर सुनसरीको धरान, इटहरी, झापाको दमक र बिर्तामोडमा गरी ६३ जना सडक बालबालिका रहेको सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले बताउनुभयो । देशभर ५ सय ३३ ओटा बालगृह मध्ये प्रदेश १ मा मात्रै २८ ओटा रहेका छन् । १४ वटा बाल गृह सञ्चालनमा छन् । उद्दार गरिएका बालबालिकालाई इटहरीस्थित बाल सुरक्षा गृहमा राखिएको छ ।

 

 

 

 


नेत्र पी अधिकारी