सामाजिक अभियन्ताको सक्रियतामा बालविवाह बदर

  ०७६ फागुन २ गते

भीमफेदी गाउँपालिकामा जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको सक्रियतामा बालविवाह बदर गरिएको छ ।

भीमफेदी गाउँपालिका–६ की १३ वर्षीया बालिका र वडा–५ का १६ वर्षीय बालकबीच माघ १६ गते भएको प्रेम विवाह माघ २९ गते सामाजिक अभियन्ताहरूको सक्रियतामा बदर गरिएको हो । उनीहरू महेन्द्र माविमा कक्षा ८ मा र १० मा अध्ययनरत हुन् । बाल विवाह भएको सुचना पाएपछि वडा–६ का अध्यक्ष सिताराम थापा, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पविना लामा र शिविन बाल हेल्पलाईन मकवानपुरको पहलमा विवाह बदर गरिएको हो ।

विवाह बदर गर्नु अघि सम्बन्धित बाललिकाहरूको अभिभावकहरूबीच गाउँपालिका अध्यक्ष हिदम लामा,  हेल्पलाईनका प्रमुख झविन्द्र ज्ञवाली, सहजकर्ता पविना लामा, वडाअध्यक्ष सिताराम थापा, महिला तथा बालबालिका प्रमुख दुर्गा घिमिरेलगायतको उपस्थितिमा छलफल चलाइएको थियो ।

छलफलबाट बाल विवाह सम्बन्धिका कानूनी प्रावधानमा दुवै परिवारको अभिभावकहरू प्रष्ट भएपछि आफ्नो छोराछोरी जिम्मा लिएर गएका छन् । दुवै परिवारले छोराछोरी पढ्दै गरेकाले पढाईमा निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता समेत गरेका छन् । विवाह बदर भए लगतै १३ वर्षीया बालिकाको अभिभावकको सहमतिमा गाउँपालिकाको सिफारिस अनुसार केही दिन बाल हेल्पलाइन प्रमुख ज्ञवालीको नेतृत्वमा बालिकालाई काउन्सिलिङ्को लागि बाल हेल्पलाईन हेटौंडामा ल्याइएको छ । भीमफेदीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विगतमा बाल अधिकारको क्षेत्रमा सचेतनामुलक कार्यक्रम गरेको थियो ।

यसैगरी मकवानपुरको बकैयामा गाउँपालिकामा पनि बालबिवाह बदर गरिएको छ । बकैया गाउँपालिका–७ को १७ वर्षीय बालक र हेटौंडा उपमहानगरपालिका–१४ की १३ वर्षीया बालिकाबीच भएको प्रेम बिवाह माघ २९ गते जनप्रतिनिधी र सामाजिक अभियन्ताहरूको सक्रियतामा बदर गरिएको बाल विवाह मुक्त प्रदेश अभियानको सहजकर्ता पविना लामाले बताउनु भयो ।

बालिकालाई अभिभावकको सहमति र उपमहानगरपलिकाको सिफारिसमा केही दिन बालहेल्पलाईनमा राखिने र बालकलाई परिवारको जिम्मा लागाईएको बाल हेल्पलाईनका प्रमुख ज्ञावलीले बताउनु भयो ।


पुष्पराज अधिकारी