सानैमा विवाहः न नागरिकता न राम्रो सम्बन्ध !

  ०७५ असार ११ गते

काखमा दुधे बालक । निराश अनुहार । उमेर हेर्दा कलिलै देखिन्छन् । हातमा किताव कापी बोकेर विद्यालय जाने जस्तै उमेर छ उनको । प्रेम गरेको प्रेमीको गलत नियत र आफ्नो नियतीको शिकारले उनको अनुहार मलिन छ । बालिका हुर्काउने बेला उनमा त्यो प्रेम गर्दाको खुसी मेटिएँदै गरेको भान हुन्छ ।

व्यास गाउँपालिका-३ की २१ वर्षीया सपना परियारले ०७१ चैतमा सोही गाउँपालिका-६ का २६ वर्षीय विक्रम दमाईसँग विवाह गरिन् । सानै उमेरमा 'लभ म्यारिज' गरेका दमाई परिवारको डेढ वर्षीय बच्चा छ । बच्चा भइसकेपछि उनको परिवारमा खटपट सुरू भयो । आमा बुवाबाट दुवै जना छुटि्टएर अलग बसे । दुवै जनाबिच मेलमिलाप हुन सकेन । पतिले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्न थालेपछि एक वर्षदेखि माइती घरमा बस्न थालेको पीडित महिलाले गुनासो गरिन् । घरमा जाँदा अपहेलना गर्ने, खान लगाउन नदिने, कुटपिट गर्ने गरेको पीडितको आरोप छ । 'घरमा पतिको पीडा सहन नसकेपछि माइती घर बसेँ ।'-उनले भनिन्-'कलिलै उमेरमा विवाह गरियो । उतिबेला दुवै जनाबीच राम्रै सम्बन्ध थियो । छोरा भयो । परिवारले असहयोग गरेपछि माइती घरमै बस्दै आएकी छु ।'

गत जेठ २२ गते पीडित महिला 'गुहार' माग्दै जिल्ला सदरमुकाम आइपुगिन् । इन्सकेको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा निवेदन पनि दिइन् । प्रहरीले पीडितको उजुरीपछि आरोपित पक्षलाई बोलाएपछि जेठ २६ गते दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा राखेर छलफल गराइएयो । 'विवाह गरेर बच्चा समेत भयो । मेरो विवाह दर्ता भएको छैन । पतिले नागरिकता बनाउन सघाएन् । बच्चाको जन्मदर्ता गरेकी छु । मेरो नागरिकता छैन । अब म के गरूँ ?'-उनले भनिन् । प्रहरीमा भएको छलफलमा आरोपितले गल्ती स्वीकार गर्दै पत्नीलाई घर लैजाने र कुटपिट नगर्ने बताए । 'म अब परिवारलाई कुटपिट गर्दिनँ । पाल्ने जिम्मेवारी मेरो हो ।'-उनले भने-'विवाह दर्ता गराएर नागरिकता पनि बनाउँछु ।

दुहुँ गाउँपालिका ३ का १८ वर्षीया पुष्पा धामीले विवाह गरेको दुई वर्षभयो । कक्षा ९ मा अध्ययन गर्दागर्दै आफन्तको लहैलहैमा लागेर महाकाली नगरपालिका-१ का २८ वर्षीय लालसिंह धामीसँग विवाह गरिन् । 'प्रेम विवाह' गरेका दुवै जना एकसातासम्म सँगै बसे । पति जागिरे भएका कारण काममा गए । नेपाली सेनामा कार्यरत धामी अहिले सुर्खेतमा कार्यरत छन् । त्यतिबेला विवाह गरेर माइती घरमा बसेर अध्ययन गर्न लगाए, अहिले आएर आफूले विवाह नगरेको भन्दै पति उनीबाट पन्छन् खोजेका छन् । उनको पनि हालसम्म विवाह दर्ता भएको छैन । न त उनीसँग नागरिकता नै छ । 'विवाह गरेको प्रमाण गाउँले बाहेक केही छैन । विवाह गर्दा विधिवत रूपमै गरेको भएपनि फोटो समेत राखिएको छैन । अहिले पतिले विवाह गरेकै छैन भनिरहेका छन् र मलाई पनि त्यसै भन्न दबाव दिइरहेका छन् ।'-इन्सेक प्रतिनिधि नरेन्द्रसिंह कार्कीलाई भेटेर भनिन्-'मैले प्रहरीमा गत वैशाखमा निवेदन दिएँ । अझैसम्म पनि समस्याको समाधान भएन ।' जिल्ला प्रहरी कार्यालयले भने छलफलमा दुवै पक्षले न्यायिक निकायमा जाने भन्दै छुट्टिएको जनायो । 'जेठ २३ गते दोस्रो पटक छलफलको लागि निवेदन दिएकी छु ।'-पीडितले भनिन्-'तर, अहिलेसम्म सुनुवाइ भएको छैन ।'

महिला तथा बालबालिका कार्यालय दार्चुलाका अनुसार जिल्लामा बालविवाह बढ्दो भएपनि आधिकारिक अभिलेख छैन । 'अहिलेसम्म बालविवाह भनेर उजुरी परेको छैन ।'-निमित्त महिला विकास अधिकृत निर्मला कुँवरले भनिन्-'गाउँमा कलिलैमा विवाह गरे विवाह दर्ता नगराउने बढी नै छन् ।'

अधिवक्ता धिरेन्द्रसिंह साउदका अनुसार गाउँमा बालविवाहका कारण उमेर पुग्ने बेलासम्म सम्बन्ध विच्छेदका घटना हने गरेको छ । अपरिपक्व हुँदै विवाह गर्ने अनि उमेर पुग्दै जाँदा कलह हुँदै सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको उनको भनाई छ । जिल्ला अदालत दार्चुलामा यस आर्थिक वर्षमा १८ वटा मुद्दा सम्बन्ध विच्छेदका छन् । कलिलै उमेरमा विवाह गरेर सम्बन्ध गराउँदा त्यसको असर बालबालिकामा पर्ने अधिवक्ता साउद बताउँछन् ।

जिल्लामा बालविवाह रोकथामको लागि सचेतनामूलक कार्यक्रम हुन सकेका छैनन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, फोन, म्यासेजलगायतका कारण बालविवाह बढ्दो छ । सानै उमेरमा विवाह गर्ने र उमेर परिपक्व हुँदै जाँदा परिवारमा खटपटको समस्या देखिने गरेको सरोकारवाला बताउँछन् । बाल अधिकारबारे सचेत हुन नसक्दा बालविवाह हुने गरेको छ । यसतर्फ सरोकारवालाले समयमै सचेतनामूलक सन्देश फैलाउन सके बालविवाह न्यूनीकरणमा सहयोग पुग्न सक्छ, यसतर्फध्यान जानु जरुरी छ ।


नरेन्द्रसिंह कार्की