सात महिनादेखि पारिश्रमिक नपाउँदा कर्मचारी मर्कामा

  ०७७ फागुन १० गते

जिल्ला डिभिजन वन कार्यालय रूकुम पश्चिमका चारजना कर्मचारीले ०७७ साउन महिनादेखि हालसम्म तलव नपाएको गुनासो गरेका छन् ।

तलवको लागि मन्त्रालयमा ताकेता गर्दा तलब जम्मा गरिसकेको बताएपनि सात महिनादेखि आफूहरूले तलव नपाएको डिभिजन वन कार्यालयका फरेस्टर बेगबहादुर केसीले बताउनुभयो । मासिक तलव र विभिन्न भत्ता गरेर एक जनाले मासिक  ४२ हजार एक सय दश रूपियाँ पाउनुपर्ने भन्दै केसीले चार जनाको ०७७ साउन देखि माघ सम्मको पारिश्रमिक तथा दशैं भत्ता गरी चार जनाको  १४ लाख ५३ हजार नौं सय ६० रूपियाँ प्राप्त नभएको गुनासो गर्नुभयो ।

लामो समयसम्म तलव नआएपछि ०७७ पुस २६ गते जिल्ला डिभिजन वन कार्यालयमा निवेदन दिएको र बोदार्थ डिभिजन वन कार्यालय केन्द्र र प्रदेश वन मन्त्रालयमा पठाउँदा समेत तलव नपाएको फरेस्टर अमर विष्टले दुःखेसो गर्नुभयो ।

‘कर्णाली प्रदेश वन मन्त्रालयमा तलवको बारेमा बुझ्दा लेखामा बुझ्न भन्नुभयो, लेखामा बुझ्दा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझ्न भन्नुभयो’ बिष्टले भन्नुभयो ‘कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझ्दा तलव आउँछ भनेर आज सम्म आश्वासन दिएको तर तलव नआएको कर्मचारीको गुनासो छ । आफूहरूको तलव नआएको विषयमा मौखिक रूपमा धेरै ठाउँमा जानकारी गराइयो तर सुनुवाई भएन ।’

डिभिजन वन कार्यालय कुम पश्चिम अन्तर्गत चार जना कर्मचारी परेका छन् । फाजिलमा परेका कर्मचारीले संघ अन्तर्गत तलव पाउनुपर्नेमा अहिलेसम्म संघले तलव सिस्टममा नै नराखेको डिभिजन वन कार्यालय रूकुम पश्चिमका प्रमुख प्रेम शंकर चौधरीले बताउनुभयो ।

कर्मचारीको तलवको लागि पटक पटक ताकेता गर्दासमेत तलव जम्मा नगरेको उहाँको भनाई छ । फाजिलमा परेका कणाली प्रदेश अन्तर्गत अन्य जिल्लाका कर्मचारीले भने तलव पाइसकेको प्रमुख चौधरीले बताउनुभयो  ।


मनिषा केसी