सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा

  ०७६ मङ्सिर २० गते

भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

१५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ ।

यस वडामा स्वास्थ्य चौकी काँक्रीमा रहेको छ । तर, गाउँ टाढाटाढा रहेको हुँदा गाबाङ, खाबाङ, जङ्गाडाँडा, सैपाटुङ गरी चार गाउँका करिब ३ सय घरधुरी रहेको गाउँका लागि वडाले खोपकेन्द्र खेबाङ भन्ने ठाउँमा एक भवन सहित शौचालय र खानेपानीको व्यवस्था गरेको थियो ।

‘हरेक महिनाको १७ गतेका दिन हाम्रो बच्चाबच्चीलाई एक घण्टा बोकेर खोप केन्द्रमा ल्याउँछौँ । दुई वर्ष अगाडि वडाले यहाँ खोपकेन्द्र भवन सहितको शौचालय र खानेपानीको व्यवस्था गर्‍यो । तर, गत जेठ महिनादेखि धारामा पानी आएको छैनन् ।’–भूमे गाउँपालिका–२ खाबाङका जोकमाया पुनले भन्नु भयो ।

‘पिउने पानीको समस्या झेलिरहेका छौँ । त्यसको साथसाथै शौचालय प्रयोगको लागि पानी नआउनुको कारणले आफू र बच्चाबच्चीलाई खुला ठाँउमा शैच गराइरहेका छौँ ।’–उहाँले भन्नु भयो ।

खानेपानीको पाइप ठाउँठाउँमा टुटफुट भएको काँक्री स्वास्थ्य चौकीका इञ्चार्ज सन्जीप खड्काले जानकारी दिनुभयो ।

पहिलेदेखि नै खानेपानीको लागि सरोकारवाला निकायलाई कुरा राखेको भएपनि सुनुवाइ नभएको स्वास्थ्य इञ्चार्ज खड्काको भनाइ छ ।

खड्काका अनुसार अब वडासँग सहकार्य गरेर छिटै मर्मत तथा पाइप जडान गरेर पानी पुनः सञ्चालनमा ल्याइने छ  ।

शिशु जन्मे बित्तिकै बिसिजी खोप, ६ हप्तामा पोलियो, एफआइपिभी, डिपिटी, पिसिभी खोप त्यसैगरी १० हप्तामा दोस्रो पटकको पोलियो, पिसिभी, डिपिटी खोप, १४ हप्तामा तेस्रो पटकको पोलियो, एफआइपिभी, डिपिटी खोप, नौ महिनामा पिसिभी दादुरा–रूबेला खोप, १२ महिनामा जापानिज इन्सेफलाइटिस खोप र १५ महिनामा दादुरा–रूबेला खोप गरी एक शिशुलाई सात पटकमा पूर्ण खोप दिनु पर्ने नेपाल सरकारबाट राष्ट्रिय रूपमा कार्यक्रम सञ्चालन रहेको छ ।


जयमान बुढा मगर