सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

  ०७७ माघ ८ गते

बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु भएको सातौँ हिउँदे अधिवेशन ०७७ माघ ७ गते पहिलो बैठक बसेर स्थगित भएको हो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो ।

सातौँ अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चुनौतिका बीच विकास र समृद्धिको काम गरेको दावी गर्नुभयो । सरकार ढलाउने खेल सुरुदेखि नै भए पनि संविधानका कारण रोकिएको बताउँदै उहाँले बामगती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरु पनि अहिले फरक ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनुभयो  ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल सुरु गरेको दावी गर्नुभयो ।

नेकपाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, विवेकशिलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाई, राप्रपाकी सांसद रिना माझीले अहिलेको सरकारको कामले जनतामा वितृष्णा पैदा भएको भन्दै सरकारको आलोचना गरेकाथिए ।

यसैबीच, प्रदेशसभामा मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णय गर्नका लागि कार्यविधि निर्माण गरेको छ ।

प्रदेश सभामा सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव छल्नकै लागि सरकारले संसदलाई अनिश्चित बनाएको प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले बताउनुभयो ।

बागमती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा नेकपाका ८० जना, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपाका दुई, नेमकिपा दुई र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

तत्कालीन नेकपा (एमाले) संसदीय दलको नेताको निर्वाचनमा पौडेल र नेत्री अष्टलक्ष्मी शाक्यबीच भएको मतदानमा पौडेलले ३४ र शाक्यले २४ मत पाउनु भएको थियो ।


पुष्पराज अधिकारी