साढे पाँच महिनाको गैरकानुनी कैदबाट मुक्त

  ०७३ कात्तिक २५ गते

कञ्चनरुप नपा-६ का ६१ वर्षीय रामफल मलाहा साढे पाँच महिनाको गैरकानुनी कैदबाट ०७३ कात्तिक २४ गते रिहा भएका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासका वरिष्ठ न्यायाधीश कुमार चुडाल र न्यायाधीश लोहितचन्द्र शाहको आदेशमा मलाहा रिहा भएको अधिवक्ता सुजित पोखरेलले जानकारी दिए ।

बेरुजु कैद असुल गर्न सप्तरी जिल्ला अदालतबाट खटिएको विशेष अभियान टोलीले मलाहालाई ०७३ जेठ ४ गते गिरफ्तार गरी राजविराज कारागारमा थुनामा पठाएको थियो ।

२०४० साल असोज १५ गते राति कारागारमा सुरुङ खनेर फरार भएको आरोपमा पिप्रा पूर्व गाविस-५ का रामफल मलाहालाई जिल्ला अदालतले ०४२ कात्तिक १३ गते डेढो बढाई कैदसजायको फैसला सुनाएको थियो । भागेका कैदीका हकमा जिल्ला अदालतले कारागार ऐन २०१९ को दफा २४ को ५ र ६ अनुरूप कैदमा बसेको कट्टा गरी डाँका मुद्दाका कैदी मलाहालाई ६१ वर्षचार महिना १९ दिन कैदसजायको फैसला सुनाएको थियो ।

कारागारबाट फरार भएको अभियुक्त आफू नभएको बताउँदै नागरिकता देखाउँदासमेत उनलाई जिल्ला अदालतले २१३४ साल असोज २३ गतेसम्म कैदमा राख्न राजविराज कारागार चलान गरेको थियो ।

सम्बन्धित गाविसमा गई सत्यतथ्य छानबिन नगरी नामथर, ठेगाना मिलेकै भरमा नेपालको संविधानको धारा २० को भावनाविपरित गैरकानुनी कैदमा राखिएको भन्दै उनका भाइ सुदामा मलाहाले पुनरावेदन अदालत राजविराजमा ०७३ जेठ १० गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।

नाम, थर, ठेगाना मिलेपनि बुवा, हजुरबुवाको नाम फरक रहेका रामफललाई नागरिकता, नाता प्रमाण, गाविसको स्थलगत सरजमीन मुचुल्का, मतदाता नामावली, ल्याप्चे छापको परीक्षण प्रतिवेदनका आधारमा फरक व्यक्ति भएको ठहर गर्दै रिहा गरिएको उच्च अदालतको राजविराज इजलासले जनाएको छ ।


मनोहरकुमार पोखरेल