साढे दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य जाँचमा समस्या

  ०७६ पुस २९ गते

साढे दुई महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गोरखा कारागारका कैदीबन्दीलाई उपचारमा समस्या भएको छ ।

कारागारमा कार्यरत स्वास्थ्यकर्मी विष्णु बस्नेत कर्मचारी समायोजनको क्रममा कात्तिक १४ गते गोरखा नगरपालिका सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य जाँच सेवा पाउनबाट वन्चित भएका हुन् ।

‘दुइ महिनादेखि स्वास्थ्यकर्मी हुनुहुन्न । चिसो बढेको छ, सामान्य रुघाखोकी लागेपनि हेरिदिने कोहि छैन ।’-कारागारका चौकीदार गोपाल बरामले भन्नुभयो ।

कोहि कैदीबन्दीमा स्वास्थ्य समस्या देखिए सरुवा भएर जानुभएकी बस्नेतलाई बोलाउने गरेको उहाँले बताउनुभयो ।

‘दुई महिना यहाँकै स्वास्थ्यकर्मी हुनहुन्थ्यो । सामान्य समस्या देखिएपनि हेरिदिनुहुन्थ्यो ।’–उहाँले भन्नुभयो-‘सरुवा भएर गइसकेको मान्छेलाई समस्या देखिहाले बोलाउनुपर्ने बाध्यता छ ।’

स्वास्थ्यकर्मी सरूवा भएर अन्यत्र गएपछि यहाँका १० जना कैदीबन्दी बिरामी भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका कैदीबन्दीमा रुघाखोकी र ज्वरोले सताइरहने हुँदा नियमति स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी अनिवार्य चाहिने कारागारका जेलर प्रेमबहादुर आलेले बताउनभयो ।

दरबन्दी अनुसार स्वास्थ्यकर्मी पठाएर नियमति कारागारमै बस्ने वातावरण मिलाइदिन आलेले प्रमुख जिल्ला अधिकारी समक्ष माग पनि राखिसकेका छन् ।

‘पहिले नियमित चेकजाँच हुन्थ्यो । सामान्य बिरामी परे यहि औषधि उपचार दिन्थ्यौँ । ठुलै भए गोरखा अस्पताल पठाउथ्यौँ । यो क्रम रोकिएपछि समस्यामा परेका हौँ ।'–उहाँले भन्नुभयो ।

स्वास्थ्यमा समस्या देखिएका सातामा सरदर पाँच जना सम्म कैदीबन्दी गोरखा अस्पतालमा उपचारका लागि जाने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्वास्थ्यकर्मी व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो । ‘गोरखा अस्पतालसँग समन्वय गरेर नियमित चेकजाँको व्यवस्था पनि मिलाउँछौँ ।’-उहाँले भन्नुभयो ।

गोरखा कारागारमा ९७ पुरुष र आठ जना महिला कैदीबन्दी रहेका छन् । टाँसिएर सुत्दा बस्दा रुघाखोकी चाँडो सर्ने समस्या रहेको समेत यहाँका कैदीबन्दी गुनासो गर्छन् ।


हरिराम उप्रेती