साढे तीन वर्षपछि फैसला, पीडितलाई कार्यान्वयनको चिन्ता

  ०७६ माघ २८ गते

राजविराज नपा–१२ दिघवाकी ३५ वर्षीया सुनीतादेवी खंगका पक्षमा सप्तरी जिल्ला अदालतले साढे तीन वर्ष पछि ०७६ माघ २७ गते मासिक ३ हजार ५ सय रुपियाँ मानाचामल भराउने फैसला गरेको छ ।

photo20200211saptari
जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलाशले अंशवण्डा नहुञ्जेल पीडितका पति ४० वर्षीय राधेप्रसाद खंगबाट प्रति महिना तीन हजार पाँच सय रुपियाँका दरले सुनीताले मानाचामल खर्च पाउने फैसला भएको अदालतले जनाएको छ ।
पीडितले ७ वर्षीय बालक छोराको संरक्षक भई आरोपित पतिसहित ससुरा ७१ वर्षीय मंगल खंग, सासु ६५ वर्षीया सितियादेवी खंग, कान्छी सासु सबुत्रीदेवी खंगविरुद्ध सप्तरी जिल्ला अदालतमा ०७३ साउन १७ गते प्रतिमहिना १२ हजारका दरले मानाचामल भराई पाउन माँग गर्दै उजुरी दर्ता गराउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयअन्तर्गतको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा ०७३ असार १ गते दिएको उजुरीबाट न्याय नमिले पछि अदालतमा उजुरी दिएको पीडितले बताउनु भयो । अदालतबाट फैसला हुन नै साढे तीन वर्ष लाग्यो कार्यान्वयन हुन पुनः कति समय लाग्ने होला वा फेरि मुद्दा लड्नु पर्ने हो भन्दै पीडितले चिन्ता व्यक्त गर्नुभयो ।
सामाजिक परम्पराअनुसार पीडित सुनीता र राधेप्रसादबीच २०६४ सालमा विवाह भएको थियो । चार वर्षपछि वैदेशिक रोजगारबाट ०७३ जेठ २५ गते घर फर्कि आएका आरोपितले चरित्रहिनको आरोप लगाउँदै खानलाउन, उचित शिक्षा नदिई कुटपिट गरिरहेकोमा ०७३ जेठ ३२ गते बाँसको भाटाले कुटपिट गरी घरनिकाला गरेपछि  पीडित राजविराज नपा–११ फर्सेठस्थित माइत विस्थापित हुनु हुन्छ ।


मनोहरकुमार पोखरेल