साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम आएन

  ०७६ कात्तिक १५ गते

लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साढे तीन महिनादेखि आमा सुरक्षा कोषको रकम नआएको अस्पताल प्रशासनले जनाएको छ ।

आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई सरकारले दिने यातायात खर्च बापतको रकम आर्थिक वर्ष ०७६/७७ को साढे तीन महिना बितिसक्दा पनि नआएको हो ।

दैनिक जसो सरदर १२ देखि १५ जना गर्भवति महिलाहरू सुत्केरी हुन आए पनि उनीहरूलाई यातायात खर्च बापतको रकम दिन नसकेको अस्पताल प्रशासन शाखाका प्रमुख जगत महतोले बताए ।

गर्भ रहेको ४, ६, ८ र ९ महिनामा नियमित चार पटक स्वास्थ्य परीक्षण गराई सुत्केरी हुने महिलाहरूलाई १ हजार ८ सय रुपियाँ र सुत्केरी मात्र हुन आउने महिलाहरूलाई सरकारले दिँदै आएको १ हजार रुपियाँ यो आर्थिक वर्षमा अहिलेसम्म पनि अस्पतालमा नआउँदा पछि आउनु होला नत्र फोन गरेर मात्र आउनु होला भनेर पठाउने गरेको शाखा प्रमुख महतोले बताए ।

अस्पताले पटकपटक स्वास्थ्य सेवा विभाग, सामाजिक विकास मन्त्रालयमा ताकेता गर्दा पनि रकम निकाशा नहुँदा सेवाग्राहीले समयमा रकम नपाएको उनले बताए ।

यस आर्थिक वर्षको साउनमा ३ सय ४१ जना, भदौमा ३ सय १४ जना, असोजमा ३ सय ४६ जना र कात्तिकको १० गते सम्म १ सय ६४ जना गरी १ हजार १ सय ६५ जना महिलाहरू अस्पतालमा सुत्केरी भएको महतोले जानकारी दिए ।


दुर्गा परियार