सहुलियत मुल्यको खाद्यान्न पाउनबाट बञ्चित

  ०७७ असार २९ गते

मुगुम कार्मारोङ गाउँपालिकाका करिब ९ हजार जनताले नेपाल खाद्य संस्थानले वितरण गर्दै आएको सहुलियत दरको खाद्यान्न पाउनबाट बञ्चित भएका छन् ।

गाउँपालिकाका १३ वटा लामा समुदाय र तीन वटा क्षेत्री समुदायका लागि खाद्यान्न राखिएको पुलु डिपोमा असार २ गतेदेखि खाद्यान्न मौज्जाद शुन्य भएपछि पुलु बजारबाट महंगोमा खाद्यान्न जोहो गर्नु परेको मुगुम कार्मारोङ गाँउपालिका—६ का सोनमा लामाले इन्सेकलाई बताउनुभयो ।

डिपोबाट सर्वसाधारणका लागि जापनिज चामल प्रति ३० केजी १ हजार ५ सय, सोना मन्सुली १ हजार ५ सय ७५ र जिरा मसिनो २ हजार १ सय ६० रुपियाँमा पाउने गरेकोमा हाल ३ सय रुपियाँ बढी मुल्यमा चामल किन्नु परेको लामाको भनाई छ ।

पुलु डिपोको लागि चालु आर्थिक वर्षमा निर्धारण गरिएको २ हजार २ सय क्विन्टल खाद्यान्न कोटा अन्तर्गत १ हजार २ सय क्विन्टल मात्र ढुवानी भएको र  लकडाउनका कारण १ हजार क्विन्टल ढुवानी हुन नसक्दा सहुलियत दरको खाद्यान्न पाउन नसकेको खाद्य संस्थान मुगु शाखाका निमित्त प्रमुख पुस्कर भामले बताउनुभयो ।

सहुलियतको खाद्यान्न पाउन भदौदेखि कात्तिकसम्म कुर्नुपर्ने देखिएकाले छिटो भन्दा छिटो खाद्यान्न ढुवानी गर्नका लागि टेण्डर आह्वान गर्न सरोकारवाला निकायलाई अनुरोध गरिरहेको मुगुम कार्मारोङ गाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाको भनाई छ ।


जीवन सेजुवाल