सहारा खोज्दै दृष्टि विहिन

  २०७६ पुस २५ गते

सासुबुहारी “दुई ध्रुर्व” जस्ता हुनभनेर चित्रण गर्ने गरिन्छ । उनिहरु आपसमा झगडा गर्छन्,मिलेर बस्दैनन् भन्ने आमसोचाई छ ।

तर, धादिङको गल्छी गाउँपालिका–१ फोसटारका ७९ वर्षीया सासु अमृतकुमारी अधिकारी र ५१ वर्षीया बुहारी यमकुमारीको सम्बन्ध आमाछोरीको जस्तै छ । जन्मदै नेत्रहिन यमकुमारीलाई सासुले लुगा धोइदिने, फेरिदिने, खाना बनाएर खुवाउने र आफूमेलापात जाँदा समेत साथै डो¥याएर लैजाने गर्नुहुन्छ ।

DSC06514

परिवारका अन्य सदस्य मृत्यु भएपछि आमा छोरी जस्ता यि सासुबुहारी अहिले सहाराविहीन हुनुहुन्छ । साँघुरो कोठामा दुई ओटा सानो खाट छ । त्यसमाथी पातला ओड्ने र ओछ्याउने । चिसोले बाहिर निस्कन कठिन छ । उहाँहरू पतला कपडामा दिउँसो लाग्ने घामका पर्खाइमा बस्नुहुन्छ । २१ वर्षअघि गजुरी गाउँपालिकाको पिडाबाट फोसटारमा आउनुभएका उहाँहरूआफन्त नभएपछि बहिनीको घरको धन्सारमा बस्नुहुन्थ्यो । आफैंले साहारा लिएको परिवारको पनि भूकम्पपछि बास गुम्यो ।

बहिनीको साहारामा बस्दै आउनुभएका उहाँहरू गत जेठ महिनामा हृदयघातका कारण बहिनी अणकुमारीको पनि मृत्यु भएपछि झन् सहाराविहिन भएका यमकुमारीले बताउँनुभयो । “अब त काँहा जाने के खाने भन्ने भयो” यमकुमारीले भन्नुभयो । स्थानीय सरकारले अपाङ्गताको लागि धेरै काम गरेको समाचार आइरहेको भएपनि नेत्रहिन यमकुमारीसंग सेतोछडी समेत छैन  । स्थानीय सरकारकातर्फबाट केही सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।

सरकारले हरेक महिना बुहारी यमकुमारीलाई दिने एकल महिला भत्ता दुईहजार र सासु अमृतकुमारीलाई दिने वृद्धभत्ता तीनहजार नै उहाँहरुको मुख्य बाँच्ने आधार हो । “अब पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भएँ, आँखा पनि धमिलो हुन थाल्यो केहि उपाय छैन, साँझ बिहानमा पनि सुरक्षित महसुस हुन्छ हामी एक्लो भयौं” अमृतकुमारीले भन्नुभयो ।

सेतो छडीसमेतनभएकोले यम कुमारी खुट्टाले छामेर बाहिरभित्र गर्ने गर्नुहुन्छ । संघीय सरकारले दिने भत्ता बाहेक वडाले केही गर्न नसकेको वडा अध्यक्ष पुर्णप्रसाद खतिवडाले बताउनुभयो । नेपालको संविधानको मौलिक हकले बेसाहाराको संरक्षणको जिम्मा राज्यको हो भनिए पनि यो परिवारको जिम्मेवारी सरकारले लिन सकेको छैन ।


सीताराम अधिकारी