सहयोगीका भरमा दुर्गमका स्वास्थ्य संस्था

  ०७३ माघ २४ गते

दरबन्दीअनुसार स्वास्थ्यकर्मीको अभाव भएपछि भोजपुरका अधिकांश स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालनमा छन् । दुर्गममा स्वास्थ्यकर्मी बस्न नचाहने, बसेकाले एक वर्षछि घरपायक र सुविधासम्पन्न स्थानमा सरुवा गरेर जाने र सरकारले पदपूर्ति नगर्दा सेवा प्रवाहमा समस्या देखिएको छ । ६४ स्वास्थ्यचौकी, तीन प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पतालमा ५० प्रतिशत स्वाथ्यकर्मीको दरबन्दी रिक्त भएपछि सेवाग्राहीलाई समस्या भएको हो ।

एक एचए, दुई अहेव, दुई अनमी र एक कार्यालय सहयोगी हुने प्रत्येक गाविसका धेरैजसो स्वास्थ्यचौकी एक जना स्वाथ्यकर्मी र कार्यालय सहयोगीले धानेको स्थानीयबासीले जानकारी दिएका छन् । 'स्वास्थ्यकर्मीले उपचार र सहयोगीले औषधि वितरण गर्छन् ।'-स्थानीयले भने ।  नागी, बासीखोरा, धोद्लेखानी गाविसमा एकजनासमेत स्वास्थ्यकर्मी छैनन् । सहयोगीले ढोका खोल्नेदेखि बिरामी चेकजाँच गरी औषधिसमेत दिन्छन् । स्वास्थ्यकर्मी नभएपनि बिरामी आएपछि जानेर या नजानेरै उपचारमा संलग्न हुनुपर्ने बाध्यता रहेको सहयोगीले बताए ।

आवश्यक कर्मचारीको अभाव हुँदा प्रशासन, स्वाथ्य चेकजाँच, औषधि वितरण, फिल्ड कार्यक्रम, गाँउघर क्लिनिक जस्ता सेवा एकै स्वास्थ्यकर्मीलाई थोपरिएका छन् । सबैतिर एक्लैले हेर्नुपर्दा सेवाग्राहीलाई सेवा दिन समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । 'स्वास्थ्यसंस्थामा आएका सेवाग्राहीलाई चाहेर पनि पर्याप्त समय दिन सकिँदैन, एकजनालाई उपचार गर्दा अर्का सामान्य बिरामी पनि सिकिस्त भैसक्ने अवस्था छ ।'-दक्षिणी पात्लेपानी स्वास्थ्य चौकीका अहेव वाबुराम भण्डारीले भने ।

जिल्लाका २४ स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर छन् । सबैमा महिला स्वास्थ्यकर्मी छैनन् । भएकामा एकजना अनमीले दैनिक दर्जनौ आउने गर्भवतीलाई चेकजाँच र सुत्केरी गराउँछन् । नभएका स्वास्थ्य संस्थामा पुरुष स्वास्थ्यकर्मीले नै गर्भवती, सुत्केरी चेकजाँच गराउने गरेको स्थानीयबासीको भनाइ छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा ध्यान नदिएकै कारण सेवाग्राही पीडित हुनुपरेको छिनामखुकी अनिता र्राईले बताइन् । उनले भनिन्-'हुनेखानेले जहाँ पुगेर जसरी पनि उपचार पाँउछन् । बिहानबेलुका छाक र्टार्न धौधौ हुनेले सास्ती व्यहोर्नु परेको छ ।'

जिल्लामा दरबन्दीअनुसारको कर्मचारी अभाव सदावहार रोग जस्तै हो । महिनौसम्म प्रमुखविहीन हुदाँपनि पदपूर्ति हुन नसक्दा अस्पताल आफैँ बिरामी बनेको अस्पतालका निमित्त प्रमुख राजु श्रेष्ठले बताए । मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि पटक-पटक लिखित र मौखिक जानकारी गराएपनि सुनुवाइ नभएको उनको भनाइ छ । 'मन्त्रालयमा कति जानकारी गराउनु ? पठाउँछु भन्ने आश्वासन आउँछ । कर्मचारी कहिले पठाउँदैनन् ।'-उनले भने ।


किरण राई