सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै इन्सेकमा निवेदन  

  ०७३ भदौ २० गते

डिलासैनी गाविस-१, बैतडी घर भई सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलमा कार्यरत सैनिक हवल्दारलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा उनको अवस्था सार्वजनिक गर्नका लागि सहयोगको अपिल गर्दै पीडितका दाजु देवसिंह बोहोराले इन्सेकसँग आग्रह गरेका छन् ।

डोटीमा ०७३ साउन २१ गते हराएका हतियार र गोलीहरू छानबिन गर्ने निहुँमा भाइलाई चरम यातना दिएको भन्दै उनले पीडितको अवस्था सार्वजनिक गर्न र जिउज्यानको रक्षाको लागि पहल गरिदिन भदौ २० गते निवेदन दिएर इन्सेकसँग आग्रह गरेका हुन् ।

हतियार हराउने दिन हवल्दार देवसिंह बोहराको नेतृत्वमा ड्यूटी बसेको टीमलाई छानबिन गर्ने नाउँमा हालसम्म पनि शारीरिक र मानसिक यातना दिइरहेको प्राप्त निवेदनमा उल्लेख गरिएको छ । हवल्दार देवसिंह बोहराका दाजु गणेशसिंह बोहराले आफू भेटघाट गर्न जाँदासमेत भेट्न नदिएका कारण घटनाको सत्य तथ्य पत्ता लगाउन पहल गरिदिन इन्सेक क्षेत्रीय कार्यलय, धनगढीमा निवेदन दिएको बताएका छन् ।

पीडितले निवेदन दिएपछि सो घटनाका बारेमा अध्ययन गर्न आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय, धनगढीमा पत्राचारसमेत गरिएको इन्सेकका सुदूर पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय, धनगढीले यस घटनाको वास्तविक सत्य तथ्य पत्ता लगाउनका लागि तत्काल अनुगमन प्रकृया अगाडि बढाउने आयोगका निमित्त निर्देशक मोहनदेव जोशीले जानकारी दिए ।


सुमित्रा भट्टराई