सवैला प्रहरी हिरासतमा भएको शङ्कास्पद मृत्युको घटनाविरूद्ध स्थानीयद्वारा प्रदर्शन

  ०७७ जेठ २८ गते

इलाका प्रहरी कार्यालय सवैला हिरासतमा एक युवकको शङ्कास्पद मृत्यु भएको घटनाविरुद्ध स्थानीय वासिन्दाहरूले जेठ २८ गते बिहान प्रदर्शन गरेका छन् । स्थानीयवासीले प्रदर्शनका क्रममा ढुङ्गा मुडा गर्दा प्रहरी कार्यालयको झ्यालको शिशा फुट्नुको साथै प्रहरीको भ्यानमा समेत क्षति पुगेको छ । सवैला प्रहरीको हिरासत कक्षमा जेठ १३ गतेदेखि रहेका सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहरको जेठ २७ गते राती शङ्कास्पद मृत्यु भएको हो ।

प्रहरी हिरासतमा रहेका सदाले प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षकै शौचालयमा आफुले लगाएको भेष्टले झुण्डिएर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यलय सवैलाका इन्स्पेक्टर चन्द्रभुषण यादवले बताउनु भयो । ‘सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर जेठ २७ गते राती २ बजे तिर थुनुवा कक्षको शौचालयमा झुण्डिएको पाएपछि स्थानीय वासिन्दा, मृतक परिवार र जनप्रतिनिधिको रहोवरमा मुचुल्का गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको इन्स्पेक्टर यादवले बताउनु भयो ।

यता, प्रहरीको थुनुवा कक्षमा रहेका मुसहरको मृत्यु घटना शङ्कास्पद रहेको भन्दै सवैलाका स्थानीयहरूले सवैला नगरपालिका–१२ बरकुर्वामा सडक अवरूद्ध गरि प्रदर्शनमा उत्रेका थिए ।

स्थानीय वासिन्दाहरूले प्रहरी हिरासतमै मृत्यु हुनु शङ्कास्पद रहेको भन्दै घटनाको सत्य तथ्य छानविन गर्नको लागि माग गरेका छन् । भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले घटनाको न्यायिक समिति गठन गरि छानबिन गर्ने र क्षतिपुर्तिको लागि पहल गर्ने आश्वासन दिएपछि जेठ २९ गते मृतक परिवारको सहमतिमा पोष्टमार्टम गर्ने सहमति भएको छ । तर, आन्दोलनको कार्यक्रम जारी राख्ने स्थानीय जयराम मण्डलले बताउनु भयो ।


दीपेन्द्रप्रसाद सिंह