सवारी छुट माग्दा दुर्व्यवहार भोग्छन् अपाङ्गगता भएका व्यक्ति

  ०७५ मङ्सिर १२ गते

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७४ को परिच्छेद ८ मा सवारी साधनबाट यात्रा गर्दा सवारी धनी वा सञ्चालकले अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने भनी उल्लेख गरिएको भएतापनि जिल्लामा अपाङ्गता भएका व्यक्ति यो अधिकारबाट वञ्चित रहेका छन् ।

अधिकारकै रूपमा छुटबारे उल्लेख गरिएको भएपनि छुटको व्यवस्थालाई जिल्लाका यातायात व्यवसायीले पालना नगरेको अपाङ्ग संरक्षण समाज, लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलको आरोप छ । अपाङ्गता भएका व्यक्तिले भाडामा छुट माग्दा सवारी चालक र सहचालकले दुर्व्यवहार गर्ने गरेको समाजका सचिव सिताराम बसेलको आरोप छ ।

सुन्दरबजार नपा–२ का धनबहादुर मालुवा राम्रोसंग हिँडडुल गर्न सक्दैनन् । मध्यम अपाङ्गताको परिचयपत्र भएका उनी सार्वजनिक यातायातमा छुट माग्दा आफूमाथि दुर्व्यवहार हुने गरेको बताउँछन् ।

मालुवा जस्तै जिल्लाका अधिकांश अपाङ्गता भएका व्यक्ति सवारी छुट माग्दा आफूमाथि दुर्व्यवहार भएको भनी अपाङ्ग संरक्षण समाजमा गुनासो लिएर आउने गरेको संस्थाका सचिव बसेलले बताए ।

शारीरिक अपाङ्गता भएका बेसीशहर नपा–३ का होमबहादुर रानासँग पनि केही समयअघि यात्राका क्रममा छुट माग्दा सहचालकले ‘थर्काएको’ तितो सम्झना छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालयातायात व्यवसायीले त्यस्तो ब्यवहार गरे प्रशासनमा उजुरी गर्न आग्रह गर्छन् । सवारी नम्बर राखी उजुरी गरेको खण्डमा दोषीलाई कानुन अनुसार कारबाही गरिने ढकालले प्रतिबद्धता व्यक्त गरे ।

जिल्लास्थित कालिका यातायात सञ्चालक समितिका अध्यक्ष कृष्ण अधिकारीले भने यातायात छुटको पालना गरिएको र छिटफुट रूपमा मात्रै यस प्रकारका घटना हुने गरेको बताउँदै दोषी यातायात व्यवसायीलाई कानुन बमोजिम कारवाही गर्नका लागि प्रसाशनलाई सहयोग गर्ने बताए ।


दलबहादुर मजाकोटी