सल्यानमा सकेट बम फेला, सेनाद्वारा निष्कृय

  ०७७ वैशाख २३ गते

सल्यानको कोटमौलामा भेटिएको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ । बागचौर नगरपालिका–९ धामिढुङ्गा स्थित थारदुला भनिने स्थान नजिकैको एक ओडारमा वैशाख २२ गते विहान शंकास्पद वस्तु भेटिएको थियो ।

वैशाख २१ गते दिउँसो स्थानीय बालबालिका गाई चराउन गएको समयमा ओडार भित्र गएको र बम जस्तो शंकास्पद वस्तु देखेपछि भोलीपल्ट विहान प्रहरीलाइ खबर गरेका थिए । प्रहरीको टोली २२ गते बिहान घटनास्थल पुगेर शंकास्पद वस्तु भेटिएपछि सेनालाई बोलाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु बम भएको एकिन गरी निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।


मिना बुढाथोकी