सर्वसाधारणलाई कुटपिट गरेको घटनाका आरोपित सेना गिरफ्तार

  ०७७ असोज १३ गते

चितवन राष्ट्रिय निकुञ्ज सेनाबाट सर्वसाधरणलाई कुटपिट भएको भनिएको घटनाका आरोपित नेपाली सेनाका चिरणकुमार बुढालाई असोज १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।

राष्ट्रिय निकुन्जमा प्रवेश गरेको आरोपमा साउन ३ गते सेनाले कुटपिट गरेको घटनाका घाइते राप्ती नगरपालिका–२ राजकुमार चेपाङको साउन ८ गते मृत्यु भएपछि मृतक राजकुमार चेपाङको बुवा विष्णुलालले भदौ २५ गते नामै किटेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

यस अघि साउन ८ गते पीडित परिवारले दिएको घटना सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियो ।

प्रहरीले घटनाका आरोपित बुढासँग बयान लिन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । किटानी जाहेरीमा परेका सेनाका कर्मचारीसँग बयान लिने काम थालिएको चितवन प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘मुद्दाले थप गति लिनेछ, धेरै विषयहरु अनुसन्धानको पाटो भएकाले अहिल्यै केही बताउन सकिन्न ।’ मुद्दाको सबै अङ्गपुगे पछि राय सहितको प्रतिवेदन सरकारी कार्यालयमा पुग्ने पनिे एसपी गुरुङले जानकारी दिनु भयो ।

सो घटनाको इन्सेक, एड्भोकेसी फोरम र थर्ड एलायन्सले स्थलगत अुनगमन गरी  भदौ ३१ गते प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिका अध्यक्ष कृष्णभक्त पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगलाई प्रतिवेदन बुझाउनुका साथै सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनमा कुटपिटकै कारण राजकुमारको मृत्यु भएको, आर्थिक अभावले समयमै उनको उपचार हुन नसकेको र भरतपुर अस्पतालका चिकित्सकहरूले अन्य घाइते पीडितहरूको स्वास्थ्य जाँचमा लापरबाही गरेको निष्कर्ष निकालेको छ । यस्तै घटनामा दोषि देखिएकाहरूलाई नियमित प्रणालीबाटै कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको थियो ।

पीडितहरूका अनुसार सेनाले निकुन्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँचजना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेका थिए ।

साउन १ गते यातना पाएपछि घर फर्किने बेलामा नै राजकुमार हिड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पु¥याएको सो घटनाका अर्का पीडित सन्तोष तामाङले बताउनु भएको थियो ।

सो घटनामा राप्ती नगरपालिका–२ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजालाई पनि कुटपिट गरिएको थियो ।


दिपेन्द्र अधिकारी