सरोकारवालाको सक्रियतामा तीन हप्ता भित्र १२ ओटा बालविवाह रोकियो

  ०७५ असार १४ गते

पछिल्लो तीन हप्ताको अवधिमा रूकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तर्गतका विभिन्न ठाउँमा १२ ओटा बालविवाह रोकिएका छन् ।

नगर बाल सञ्जाल र बाल संरक्षण समिति तथा प्रहरीको सक्रियतामा बालविवाह रोकिएको जिल्ला बालकल्याण समितिका बाल अधिकार अधिकृत मानवीर ओलीले बताए ।

०७५ जेठ २६ गते चौरजहारी नपा-१६ वर्षीया बालिका र १८ वर्षीय युवकबीच हुन लागेको विवाह रोकेको थियो । त्यस दिनपछि ५ वटा वडामा भएका तथा हुने तयारीमा रहेका १० वटा बालविवाह प्रहरीले रोकेको छ ।

पछिल्लो पटक ०७५ असार १३ गते नगर बाल सञ्जालको सक्रियतामा चौरजहारी नपा-५ मा १७ वर्षीया बालिका र १८ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ ।

बालविवाहले उनीहरूको स्वास्थ्यमा असर पर्ने, त्यसकै कारण बहुविवाह र घरेलु हिंसा बढ्ने तथा कानुनी रूपमा पनि अवैधानिक हुने भन्दै जिल्लाका सरोकारवाला निकायको पहलमा बालविवाह न्यूनीकरण अभियान जारी रहेको छ ।

यसैगरी, चौरजहारी नपा-१०, का १८ वर्षीय युवक र १७ वर्षीया बालिकाबीच हुन लागेको विवाह पनि प्रहरी चौकी नुवाकोटले रोकेको छ । चौरजहारी नपा-१३, की १५ वर्षीया बालिका र १७ वर्षीय बालक, चौरजहारी नपा-१० का १७ वर्षीय बालक तथा बालिका, चौरजहारी नपा-१४ की १६ वर्षीया बालिका र १८ वर्षीय युवकबिच हुन लागेको विवाह पनि रोकिएको जनाइएको छ ।

त्यस्तै चौरजहारी नपा-१४ की १६ वर्षीया बालिका र १८ वर्षीय युवकबीच हुन लागेको विवाह बालबालिका र अभिभावकलाई सम्झाई बुझाई रोकिएको नगर बाल सञ्जालका अध्यक्ष जनक आचार्यले बताए ।

सोही वडाको १७ वर्षीया बालिका तथा १७ वर्षे बालकबीचको विवाह, चौरजहारी-१४ कै १८ वर्षीय युवक र सानीभेरी गाउँपालिका-२ की १७ वर्षीया बालिकाबीचको विवाह, चौरजहारी नपा-१३ का १७ वर्षीय बालक र सल्यान दार्मा गाउँपालिकाकी १८ वर्षीया बालिकाबीचको विवाह रोकियो ।

त्यस्तै चौरजहारी नपा -१४ का १७ वर्षीय बालक र सानीभेरी गाउँपालिका-८ की १९ वर्षीया युवतीबीच र त्रिवेणी गाउँपालिका-९ का १९ वर्षीय युवक र १९ वर्षीया युवतीबीचको विवाह समेत उमेर नपुगेको भन्दै रोकिएको बाल अधिकार अधिकृत ओलीले बताए ।


मनिषा केसी