सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव

  ०७३ कात्तिक ८ गते

जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिको अभाव भएको जिल्ला अस्पतालका डाक्टर भाष्कर हुमागाईंले बताएका छन् । जिल्ला अस्पतालसहित ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा औषधि अभाव भएको हुमागाईंले बताएका हुन् ।

जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा सबैभन्दा बढी माग हुने औषधि एसिलक, डाइजिन, ब्रुफिन, सिटामोललगायतका औषधिको अभाव देखिएको हो । जिल्ला सरकारी अस्पतालमै ७० प्रकारका औषधि मध्ये करिब ४० प्रकारका औषधिको अभाव भएको अस्पतालका डा. हुमागाईंले बताए । उनका अनुसार अस्पतालमा भएका बाहेक सबै औषधि बिरामीहरूलाई बाहिरबाट किन्न भन्न बाध्य छन् । हुमागार्इं भन्छन्-'ग्याष्ट्रिकका औषधि मगाए पनि पाउन सकिएको छैन । घाउ सुकाउने औषधि पनि सकिएको छ ।'

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका स्टोर प्रमुख मोहराज सापकोटाले क्षेत्रीय मेडिकल स्टोरले पठाएको औषधि थोरै परिमाणमा रहेका कारण छिटै सकिएको बताए । यहाँका स्वास्थ्य संस्थाहरूमा विशेषगरी भारतीय र नेपाली कम्पनीहरूबाट आयात गरिएका औषधिहरूको अभाव रहेको बताइएको छ ।

औषधि खरिदका लागि जनस्वास्थ्य कार्यालयमार्फ टेण्डर आह्वान गरिएको भएपनि प्रक्रिया लामो हुने भएकाले औषधि अभाव थप हुँदै जाने स्टोर प्रमुख सापकोटाको भनाइ छ ।

स्वास्थ मन्त्रालयका अनुसार हरेक जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भन्ने व्यवस्था रहेको छ ।


यज्ञमूर्ति तिमिल्सिना