सरकारी विद्यालय बन्द हुँदा विद्यार्थी निजी विद्यालयमा !

  ०७६ वैशाख ३० गते

मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँमा रहेको जनकल्याण प्राथमिक विद्यालयका शिक्षक शिक्षिका विद्यालयमा अनुपस्थित हुँदा विद्यालय बन्द भएपछि यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी निजी विद्यालयमा चर्को मुल्य तिरेर पढ्न बाध्य भएको स्थानीयले बताएका छन् ।

०३४ सालमा स्थापना भएको मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँस्थित श्री जनकल्याण प्रथामिक विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ ।

यस शैक्षिक सत्रमा विद्यार्थीहरू भर्ना भएको भएपनि विद्यालयमा कार्यरत शिक्षकहरू लामो समयदेखि विद्यालयमा अनुपस्थित भएपछि सरकारी विद्यालयमा भर्ना भएका सबै विद्यार्थी चर्को मुल्य तिरेर गाउँमै रहेको निजी विद्यालयमा पढ्न बाध्य भएका हुन् ।

०७६ वैशाख १ देखि १६ गतेसम्म विद्यालयले विद्यार्थीहरूको भर्ना लिएको थियो । यो शैक्षिक सत्रमा बालविकास कक्षामा १६ जना छात्र र ६ जना छात्रा, कक्षा एकमा सात जना छात्र र नौजना छात्रा, कक्षा दुईमा तीनजना छात्र र दुई छात्रा र कक्षा तीनमा दुई जना छात्र र चार जनजा छात्रा गरी जम्मा ४९ जना विद्यार्थी भर्ना भएका थिए । विद्यालयको अभिलेखमा कक्षा चार र पाँचमा भने विद्यार्थी भर्ना भएको पाइँदैन ।

विद्यालयमा कार्यरत शिक्षकमध्ये तीनजना स्थायी शिक्षक र एक बाल शिक्षिका रहेको भएपनि एकजना शिक्षकको सरूवा भएर गइसकेका छन् ।

हाल विद्यालयमा कार्यरत रहेका प्रधानाध्यापक हरिबहादुर बिटालु, शिक्षक कार्मा लामा र बाल शिक्षिका टोमा लामा वैशाख १७ गतेदेखि अनुपस्थित रहेको स्थानीयहरू बताउँछन् ।

विद्यालयमा भर्ना भएर पनि बालबालिकाको पढाईमा अवरोध हुने भएकाले ति बालबालिकाका अभिभावकले सबै बालबालिकालाई सोही गाउँमा रहेको एक निजी विद्यालयमा भर्ना गर्नुपरेको अभिभावक पात्मा लाङ्गेल लामा बताउँछन् ।

यो वडा मुगुम कार्मारोङ्ग गाउँपालिकाको अध्यक्ष छिरिङ्ग क्याप्ने लामाको घर भएको गाउँ हो । यो गाँउमा स्थापना गरेको निजी विद्यालयका सञ्चालक गाउँपालिका अध्यक्ष लामाको छोरा प्रविण लामा भएकाले पनि सरकारी विद्यालयमा पढ्ने बालबालिका निजी विद्यलायमा भर्ना हुन् भन्ने उद्देश्यले पनि विद्यालयमा अनुपस्थित हुने शिक्षकमाथि गाउँपालिकाले कारवाही नगरेको स्थानीयको आरोप छ ।

अनुपस्थित शिक्षकहरूलाई कारवाही लागि एकसाता अघिमात्रै गाउँपालिकामा जानकारी गराएको भए पनि गाउँपालिकाले कुनै किसिमको प्रक्रिया अगाडि नबढाउँदा विद्यालयमा अनुपस्थित हुने शिक्षकलाई प्रोत्साहन मिल्ने गरेको अभिभावक ठिल्ने लामाले बताए ।

विद्यालय राजनीतिक प्रभावमा परेको बताउँदै सो वडाका अध्यक्ष च्याबा तामाङले गाउँपालिकास्थित शिक्षा समन्वय एकाईमा जानकारी गराउँदा पनि समस्या समाधान हुन नसकेको बताए ।

अनुपस्थित शिक्षकलाई उपस्थितिका लागि आह्वान गर्ने र उपस्थित नभएका शिक्षक शिक्षिकाको तलब रोक्काको लागि गाउँपालिकामा सिफारिस गर्ने अध्यक्ष तामाङले बताए ।


जीवन सेजुवाल