सरकारी नीति बमोजिम दलितले छात्रवृत्ति नपाएको गुनासो

  ०७४ जेठ ९ गते

सरकारले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ मा गरेको छात्रवृत्तिसम्बन्धी व्यवस्थाअनुसार सप्तरीका दलितहरूले छात्रवृत्ति नपाएको भन्दै दलित सरोकार मञ्च सप्तरीले आक्रोश व्यक्त गरेको छ ।

जेठ ८ गते सञ्चारकर्मी भोला पासवानले अध्ययन गरेको प्रतिवेदनका आधारमा सप्तरीमा सञ्चालित नीजि विद्यालयहरूमा दलितहरूले पाउनुपर्ने छात्रवृत्ति नपाइरहेको गुनासो गरेका हुन् ।

जिल्लामा दर्ता रहेका १ सय १० ओटा निजी विद्यालयमध्ये ६० ओटा विद्यालयसँग छात्रवृत्तिसम्बन्धी सूचना माग गरिएकोमा ३२ ओटाले उपलब्ध गराएको सूचनाका आधारमा तयार गरिएको प्रतिवेदनअनुसार सरकारी नीति भएपनि दलित समुदायका बालबालिकालाई विद्यालयहरूले छात्रवृत्ति वितरण नगरेको पाइएको पासवानले बताए ।

निजी विद्यालयमा करिब सात प्रतिशत दलित विद्यार्थी अध्ययनरत रहेपनि दलितलाई छात्रवृत्ति नदिएको, छात्रवृत्तिसम्बन्धी तथ्याङ्क विद्यालयले नराखेको, जिल्ला शिक्षा कार्यालयमासमेत छात्रवृत्तिसम्बन्धी तथ्याङ्क नपाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा संस्थागत विद्यालयहरूले कूल विद्यार्थी सङ्ख्याको कम्तिमा १० प्रतिशतमा नघटाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था समेत पालना नगरेको सञ्चारकर्मी पासवानले बताए ।


मनोहरकुमार पोखरेल