सरकारले निःशुल्क गरेको औषधिमा शुल्क तिर्दै मिर्गौला बिरामी

  ०७६ कात्तिक २१ गते

मिर्गौलाका बिरामीलाई सरकारले निःशुल्क दिने भनेको औषधिमा बढी मूल्य तिरेर बिरामीले औषधि खरिद गर्न बाध्य भएका छन् ।

 

मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपको माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलोसिस गर्ने औषधिमा बिरामीले बढी मूल्य तिर्न बाध्य भएका हुन् ।

 

सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिएपछि बिरामीले बाध्य भएर सिधै बढी मूल्य तिरेर बिक्रेताबाटै औषधि किनेर डायलोसिस गर्नु परेको मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले बताए ।

 

सरकारले ०७६ साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलोसिस गर्ने प्रविधि सिएपिडी फ्युडको मूल्य प्रति प्याकेट ४ सय ८ रुपियाँ निर्धारण गरेको भएपनि बिक्रेताले ४ सय ३० भन्दा घटेर औषधि नदिएपछि बिरामीले बाध्य भएर औषधिमा बढी मूल्य तिर्नुपरेको उनले गुनासो गरे ।

 

उक्त औषधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डिके मेडी सेल्सले सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसक्ने भनेर बिक्री रोकेपछि ज्यान जोगाउन बाध्य भएर बिरामीले बढी पैसा तिर्नु परेको उनको गुनासो छ ।

 

शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरबाट स्वीकृत पत्र लिएर विक्रेताबाट निःशुल्क औषधि लिँदै आएका बिरामीले औषधि नपाएपछि सोझै कम्पनीसँग सरकारले दिने रकमबाट प्रति प्याकेट २२ रुपियाँ थपेर औषधि किन्नु परेको सुवेदीको भनाई छ ।

 

दैनिक एक जना बिरामीका लागि ३ प्याकेट औषधि लाग्नेमा निःशुल्क प्राप्त हुनुपर्ने औषधिलाई बिरामीले दैनिक ६६ रुपियाँका दरले मासिक १ हजार ९ सय ८० रुपियाँ थप रकम तिर्नु परेको मिर्गौला पीडित बि.के. पाल्पालीकी पत्नी रेनुका भट्टराईले बताइन् । पाल्पाली मिर्गौला पीडित बिरामी हुन् ।

 

मिर्गौलाको उपचार हुँदै आएको शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रले यहाँबाट औषधिको व्यवस्था गर्न नसक्ने भन्दै बिरामीलाई पत्र सहित निदान अस्पतालमा पठाएपछि बिरामीले थप मूल्य तिर्नु परेको उनको गुनासो छ ।

 

बिरामीले बिक्रेताबाट मङ्हगोमा औषधि किनेर निदान अस्पतालमा जानु पर्ने बाध्यता आएको र निदानले पनि उपचार गर्न नसक्ने भनेर केहीदिन यता बिरामीलाई फर्काईदिए पछि बिरामीहरू अलपत्र परेको मिर्गौला पीडित भट्टराईको भनाई छ ।

 

सरकारले औषधिको मूल्यमा भएको असमानता तत्काल हटाई बिरामीलाई कालो बजारीबाट औषधि किन्नु पर्ने बाध्यताबाट मुक्त गरिदिनु पर्ने उनी बताउँछिन् ।

 

मिर्गौला बिरामी कोपिला बस्नेतले बिरामीलाई औषधि किन्न धोवीघाट जानु पर्ने र उपचारका लागि निदान जानु पर्ने बाध्यता हटाउँदै भक्तपुरबाटै औषधि र उपचार दिने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरिन् ।

 

मिर्गौला पीडित सरोकार समितिले स्वास्थ्य मन्त्रालयमा मन्त्री उपेन्द्र यादवलाई भेट गरी समस्याको बारेमा पटकपटक जानकारी गराउँदै आएको भएपनि मन्त्रालय गम्भीर नबनेको समितिका अध्यक्ष सुवेदी बताउँछन् ।

 

मन्त्रालयले यो आर्थिक वर्षमा केही गर्न नसकिने जबाफ दिएपछि बिरामी थप समस्यामा परेको उनी बताउँछन् ।

 

औषधि बिक्रेता सञ्जय अधिकारीले सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसकिने भएकाले बाध्य भएर बिरामीसँग थप शुल्क लिनु परेको बताउँछन् ।

 

मेशिनबाट गराउने हेमोडायलोसिस भन्दा यो प्रविधि सहज भएको भन्दै हाल १ सय ७० भन्दा बढी बिरामीले यो प्रविधिबाट मिर्गौलाको डायलोसिस गराउँदै आएका छन् ।


रमेश गिरी