सरकारको नीति तथा कार्यक्रममा भएपनि सेनेटरी प्याड पाउनबाट छात्रा वञ्चित

   ०७६ फागुन १६ गते  

आर्थिक वर्ष २०७६/७७ देखि सामुदायिक विद्यालयका छात्राहरूलाई नेपाल सरकारले नीति तथा कार्यक्रममा  घोषणा गरे बमोजिम निशुल्क दिने भनिएको सेनेटरी प्याड ताप्लेजुङका कतिपय सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले पाउन नसकेको गुनासो गरेका छन् ।

एक ओटा नगरपालिकासहित ८ ओटै गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुले चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत पाउनेनपाउने अझै टुङ्गो छैन् । मन्त्रिपरिषदको ०७६ मङ्सिर ३० गतेको निर्णय अनुसार स्वीकृत सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ समेत संलग्न गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विभाग केन्द्रले सबै स्थानीय तहलाई पुस १४ गते परिपत्र गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।

अर्थ मन्त्रालयको ०७६ पुस ११ गतेको निर्णयअनुसार स्थानीय तहमा हस्तान्तरण भएको बजेट उपशीर्षकमा सामुदायिक विद्यालयका छात्राहरूलाई निशुल्क सेनेटरी प्याड व्यवस्थापन क्रियाकलाप थप गरी बजेट वित्तिय हस्तान्तरण भएको व्यहोरा अनुरोध छ । आवश्यक समन्वय र सहजीकरण गर्नका लागि ७७ ओटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई समेत बोधार्थ पठाएको छ ।

कार्यविधि अनुसार गठित प्रदेश स्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समितिले प्रभावकारी कार्य गर्न नसक्दा छात्राहरूले सेनेटरी प्याड नपाएका हुन् । कार्यविधिको परिच्छेद–५ सेनिटरी प्याड व्यवस्थापन,समन्वय र अनुगमन सम्बन्धि व्यवस्था अन्तर्गत बुँदा नं.१२ को (१) मा प्रदेशभित्र सेनिटरी प्याड कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न,कार्यक्रम सञ्चालनमा सहजीकरण गरी प्रभावकारी अभिवृद्धि गर्न प्रत्येक प्रदेशमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको समितिले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा छात्राहरू प्याड पाउनबाट वञ्चित भएका हुन् ।

समितिको काम,कर्तव्य र अधिकारमा उल्लेख भएअनुसार प्रदेशभित्रका विद्यालयमा सेनिटरी प्याड समयमै उपलब्ध भए/नभएको,उपलब्ध सामाग्रीको सदुपयोग तथा प्रयोग भएका सामाग्रीबाट वातावरणमा प्रतिकुल असर नपर्ने गरी विर्सजन भए/नभएको अनुगमन गरी कार्यक्रम सञ्चालन गर्न व्यवस्था गरिएको छ । शैक्षिक सत्र २०७६ को एसईई परीक्षा तालिका अनुसार कक्षा–१० मा अध्यनरत छात्राहरू सुविधा पाउनबाट वञ्चित हुने निश्चित प्राय छ ।

सेनेटरी प्याड वितरण (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ को परिच्छेद–३ को सेनिटरी प्याड भण्डारण तथा वितरण ५ को (१) मा विद्यालयले आफ्ना छात्राहरूको संख्याको आधारमा आवश्यक पर्ने सेनिटरी प्याड शिक्षा शाखा मार्फत स्थानीय तहमा माग गरी पठाउनुपर्ने छ । तर कतिपय विद्यालयले छात्राहरुको तथ्याङ उपलब्ध गराएका छैनन् ।

जिल्लाको ८ ओटै गाउँपालिकाले बजेट बारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । सेनेटरी प्याड खरिदबारे सुनेपनि कार्यक्रमका लागि बजेट अख्तियारी नभएको पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार मेन्याङले बताउनुभयो । अध्यक्ष मेन्याङले भन्नुभयो,“म अपडेटमै छु । यद्यपि अझैसम्म बजेट अख्तियारी छैन् ।”

आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले सेनेटरी प्याडको बजेटका विषयमा जानकारी नभएको बताउनुभयो । अध्यक्ष सिटौलाले भन्नुभयो “यो विषयमा म जानकारी छैन् ।

फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङले कार्यक्रमबारे सुनेपनि आफ्नो पालिकामा बजेट अख्तियारी आए/नआएको बुझ्ने बताउनुभयो । अध्यक्ष एभेङका अनुसार इन्टरनेट समस्याका कारण इमेलमा प्राप्त हुने सूचना बेलैमा प्रवाह गर्न कठिन भएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत सदरमुकाम गएकाले बुझेर आउन भनेको उहाँले बताउनुभयो ।

यता ८ ओटा गाउँपालिका बाहेक फुङलिङ नगरपालिकामा भने बजेट अख्तियारी आएको छ । नगरपालिकाका शिक्षा विभाग प्रमुख दुर्गा पौडेलका अनुसार १८ लाख ८७ हजार रुपियाँ अख्तियारी आएको हो । सेनेटरी प्याड खरिदका लागि ७ दिने सूचना प्रकाशन गरेर टेण्डर आव्हान गर्न तयारी पौडेलले बताउनुभयो ।

नगरपालिकाको तथ्याङ्क अनुसार १ हजार ६ सय ७३ जना छात्राहरू छन् । कक्षा–६ देखि १० सम्मका छात्राहरु हुन् । यद्यपि नरपालिकाले नै सेनेटरी प्याड खरिदका लागि बजेट किताबमा (नीति तथा बजेट कार्यक्रम आ.व.२०७६÷७७) उल्लेख गरेपनि अझैसम्म विद्यालयमा उपलब्ध भएको छैन् । नगर उपप्रमुख बमबहादुर भट्टराईले कार्यपालिका बैठक बसेर वितरणको काम गर्ने योजना रहेको बताउनुभयो । उपप्रमूख भट्टराईले,“कर्मचारी अभाव र प्राविधक कारण ढिलाई भएको बताउनुभयो । नगरपालिकाले नै २ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

फुङलिङ नगरपालिका–४ स्थित भानुजन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर राईले सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गरेको भएपनि कार्यान्वयन भने नभएको बताउनुभयो । प्रअ राईका अनुसार सेनेटरी प्याड वितरण भए छात्राको विद्यालय नियमिततामा बढोत्तरी हुने भएकाले नगरसरकारले तत्काल निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

महिनावारी हुँदा विद्यालय छाड्ने छात्राको संख्या कम गर्न र सो समयमा पनि विद्यालय नियमित जानका लागि प्रेरित गर्ने सरकारको निर्णय व्यवहारिक कार्यान्वयन हुनुपर्ने मयाम मावि फुरुम्बुका प्रअ नविन कार्कीले बताउनुभयो ।

भानुजन माध्यमिक विद्यालयका महिनावारी भनेपछि छात्राहरूका लागि पानी र छुट्टै शौचालय सुविधाका लागि नगरसरकारको ध्यान जानुपर्ने नेपाल पत्रकार महासङ्घ कार्यवहाक अध्यक्ष चन्द्र पन्दाकले बताउनुभयो ।  भानुजन माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्यनरत १५ वर्षीय छात्राले आफूले सञ्चारमाध्यमबाट सेनेटरी थाहा पाएकाले पाउने प्रतिक्षामा रहेको बताउनुभयो । युवावर्ष मावि कैजलेमा कक्षा–९ मा अध्यनरत सुमी श्रेष्ठले महिनावारी भएको बेला साथीहरू विद्यालय नआउने गरेको बताउनु भयो ।  उहाँ भन्नुभयो “महिनावारी भएको दिन निकै समस्या हुन्छ । लाज र डर दुवै हुन्छ ।”

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको संयुक्त आयोजनामा सिद्धिमङ्गल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीराजमणि पोखरेलले सेनेटरी प्याड वितरण गरेर औपचारिक उद्घाटन गरेको थियो ।

चालु आ.व २०७६÷७७ मा देशभरका सामुदायिक विद्यालयका लागि १ अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपियाँ नेपाल सरकारले विनियोजन गरेको छ ।

मन्त्रालयका अनुसार उक्त रकमबाट १४ लाख ३७ हजार छात्रा लाभान्वित हुने अपेक्षा छ । सेनेटरी प्याड वितरण (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार सामुदायिक विद्यालयमा अध्यनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामाग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न,गुणस्तरीय शिक्षाको प्रत्याभूती गर्न र महिनावारी व्यवस्थापन सामाग्रीको दिगो विसर्जन तथा पुनःप्रयोग गर्न सकिने सामाग्रीको प्रयोग गर्ने तर्फ उत्प्रेरित गर्न वाञ्छनिय भएको निर्णय प्रस्तावनमा उल्लेख गरेको छ ।


देवराज गुरुङ