सरकारका निर्णयहरू प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आयोगको अपिल

  ०७६ चैत ११ गते

अत्यावश्यक वस्तु तथा सेवाको पहुँच र प्रभावकारी स्वास्थ्य परीक्षण सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गरेको छ ।

विश्वमा फैलदै गइरहेको कोभिड–१९ सङ्क्रमणले नेपाललगायत विश्व समुदाय सन्त्रस्त र सङ्कटको अवस्थामा रहेको भन्दै आयोगले ०७६ चैत ९ गते विज्ञप्तिमार्पmत यस्तो ध्यानाकर्षण भएको जनाएको हो ।

जीवनको अधिकारको रक्षा सम्बन्धमा आयोगको विश्वले नै सामना गरिरहेको सङ्कटको सम्बन्धमा नेपाल सरकारले गरेका निर्णयहरूको आयोगले प्रशङ्सा समेत गरेको छ । सङ्कटपूर्ण यस घडीमा नेपाल सरकारका निर्णयहरूको प्रभावकारी परिपालनामा गम्भीर हुन सबै पक्षसँग आयोगले आग्रह गरेको छ ।

कोरोना प्रभावित देशहरूबाट हालै नेपाल भित्रिएका नागरिकहरूको प्रभावकारी स्वास्थ्य परीक्षण, क्वारेन्टाइन तथा आइसोलेसनमा राखी कडा निगरानी गर्न र दैनिक जीवनका अत्यावश्यकीय सेवा तथा वस्तुहरूको पहुँचको सुनिश्चतता गर्न आयोगले नेपाल सरकार लगायत सेवा प्रदायकहरूको समेत ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले कोभिड–१९ विरुद्ध लड्न गम्भीरतापूर्वक आवश्यक तयारी गरिरहेको सन्दर्भमा देशका विभिन्न नाकाहरूबाट मानिसहरू प्रवेश गरिरहेको स्थितिले सङ्क्रमणको जोखिमलाई थप बढाउन सक्ने आयोगले आशङ्का गरेको छ । देशका सबै नाकाहरूमा आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता र प्रभावकारी स्वास्थ्य परीक्षण सुनिश्चित गर्नु पर्ने खाँचो औँल्याइएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराई बताउनु भयो ।

यस किसिमको सन्त्रासयुक्त समयमा अत्यावश्यक वस्तु तथा सेवाको पहुँच सुनिश्चित गर्नेतर्फ सचेत रहँदै त्यसको प्रभावकारी अनुगमन गर्न गराउन नेपाल सरकार तथा सम्बद्ध उद्योग व्यवसायीहरू समेतलाई आयोगले आग्रह गरेको सचिव एवम् प्रवक्ता बेद भट्टराईले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

साथै, आफ्ना अधिकारप्रति सचेत रहँदै सरकारको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, गराउन आमनागरिक तथा सरोकारवालाहरूमा आयोगले विशेष आग्रह गरेको छ ।


दीपकप्रसाद घिमिरे