सम्सी गाउँपालिकामा राहत वितरण सुरू

  ०७७ जेठ ४ गते

सम्सी गाउँपालिकामा राहत वितरण हुन नसकेको समाचार इन्सेक अनलाइन मार्फत लगातार प्रकाशित गरिए पछि जेठ ३ गतेदेखि जनप्रतिनिधिहरूले सहमती गरेर राहत वितरण सुरु गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले जारी राखेको लकडाउनको ५४ औँ दिनमा सम्सी गाउँपालिकाले दैनिक ज्यालादारी मजदुरी गर्ने अति विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेको हो ।

सबै जसो गाउँपालिका र नगरपालिकाहरूले दोश्रो चरणको राहत वितरण सम्पन्न गरिसके पनि सम्सीमा जेठ ३ गतेदेखि पहिलो चरणको राहत वितरण सुरु गरिएको हो ।

जनप्रतिनिधि र कर्मचारीहरू बीचको विवादको कारण राहत वितरण नहुँदा ज्यालादारी मजदुरी गर्ने विपन्न तथा गरिव परिवारहरू भोकभोकै बस्न बाध्य भएपछि गाउँपालिका कार्यालयमा वैशाख २३ र वैशाख २७ गते गरी दुई पटक तालाबन्दी गरिएको थियो ।

तालाबन्दीको अगुवाई गरिरहेका स्थानीय युवा राजेश यादवले भन्नु भयो–‘आज राहत वितरण सुरू भएकोमा खुशी छु, म इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहलाई विशेष धन्यवाद दिन चाहन्छु कि सम्सीमा राहत वितरणको विषय सुरू देखि नै प्राथमिकताका साथ उठाएर गरिब निमुखा तथा अति विपन्नहरूको आवाज बुलन्द गर्न साथ दिनु भयो, म उहाँलाई सम्सीका गरिब विपन्नलाई साथ दिएकोमा फेरी पनि धन्यवाद तथा आभार प्रकट गर्दछु ।’

राहत वितरणको पहिलो दिन वडा नं ७ का १ सय १० घर परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष मदन राय यादवले बताउनु भयो ।


अजयकुमार साह