सम्वादबाट समाधान खोज्न नागरिक समाजको जोड

  ०७३ माघ १८ गते

सम्वादको माध्यमबाट मधेशको समस्या समाधान गर्न नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १८ गते राजविराजमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायत्तताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वार्ता र सम्वादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

photo20171231saptari (3)

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दलहरूले आ-आफ्नो अडान छाडेर समाधानको उपायसहित वार्तामा बसे मात्र समस्या समाधान हुने बताए । कसैकसैले जानेर र धेरैले नजानेर नेपाललाई दुई राष्ट्रमा विभाजन गर्ने प्रयत्न गरिरहेकोतर्फ सचेत गर्दै अध्यक्ष प्याकुरेलले मधेश समस्याको राजनीतिक समाधान खोज्नु पर्ने बताए ।

photo20171231saptari (2)

वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले समन्यायिक र सन्तुलित विकासका लागि ल्याइएको सङ्घीयता तर्क र बहुमतले नभई इमान्दारिताले परिभाषित गर्नुपर्ने बताए । सङ्घीयता र संविधानसभाप्रति ठूला दलहरू इमान्दार नभएकै कारण समस्या उत्पन्न भएको भन्दै मण्डलले सङ्घीयताले मुलुक विभाजन हुने भय कसैले पाल्न नहुने बताए ।

कार्यक्रममा मधेश मामिलाका विज्ञ डा. राजेश अहिराजले २००७ सालदेखि नै योजनाबद्ध ढङ्गले नेपाललाई दुई राष्ट्र बनाउने प्रयास भइरहेको भन्दै जानेर, नजानेर एकापसमा घृणा उब्जाएमा विभाजनको अवस्था सृजना हुने बताए । घृणाले नभई अपनत्वले साझा राष्ट्रियता निर्माण हुने भन्दै उनले बुद्धिजिवीहरूले घाउ बल्झाएर पक्षीय प्राज्ञिक बहस गर्न नहुने बताए ।

photo20171231saptari (1)

कार्यक्रममा पूर्व सभासद असर्फी सदा, पूर्व प्राध्यापक अमरकान्त झा, पूर्व प्रधानाध्यापकत्रय हासिम अन्सारी, विजयानन्द झा, देवेन्द्र मिश्र, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पुनरावेदन बार एशोसिएसन राजविराजका निवर्तमान अध्यक्ष महेन्द्रकुमार चौधरी, शिक्षक मञ्जु श्रेष्ठ, मैथिल महासङ्घका अध्यक्ष विष्णुकुमार मण्डल, अधिवक्ताद्वय भुपेन्द्रनारायण मण्डल, मनु खनाल, प्याब्सनका केन्द्रीय सदस्य अनील झा, पत्रकार शिवहरी भट्टराई, हेमशङ्कर सिंह, शिवकान्त सुमनले राजनीतिक दलहरूले कमजोरी सुधार गरेर समग्र विकासको सोचका साथ निकास खोज्नु पर्ने बताए ।


मनोहरकुमार पोखरेल