सम्मानित भएर बाँच्न नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो

  ०७३ असोज ११ गते

ज्येष्ठ नागरिकहरू इतिहासका धरोहर मानिएपनि सम्मानित भएर बाँच्न सक्ने अवस्था नरहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रिय कार्यालय खोटाङले भोजपुरमा गरेको एक अन्तरक्रियाका सहभागी ज्येष्ठ नागरिकले शिक्षित र सम्भ्रान्त बन्दै गएको समाजमा झन घृणित हुनु परिरहेको गुनासो गरेका हुन् ।

उनीहरूले ज्येष्ठ नागरिकका लागि वकालत गर्ने सम्बन्धित निकायबाटै अपहेलना भइरहेको गुनासो गरेका छन् ।

'बढ्दो वैदेशिक रोजगार र पारिवारिक हेयले गर्दा ज्येष्ठ नागरिकहरूको स्थिति दिनप्रतिदिन झन् दर्दनाक बन्दै गइरहेको छ । अध्ययन र रोजगारको सिलसिलामा छोरासहित बुहारी घर बाहिरै रहने प्रचलनले उमेर ढल्केका ज्येष्ठ नागरिकको अवस्था दर्दनाक छ । पढेलेखेका परिवारका ज्येष्ठ नागरिक नै छोराछोरीको अपहेलनामा गुज्रिरहेका छन् । ज्येष्ठ नागरिकहरूलाई हरेक किसिमले अपहेलित भइरहेका छन् ।'-ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष श्यामकुमार खड्काले भने ।

राज्यले पनि ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण राम्रो नभएको ज्येष्ठ नागरिक चक्रप्रसाद राईले बताए ।

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकका हकहरू उल्लेख गरिएको भएपनि राज्यबाटै ज्येष्ठ नागरिक पीडित भइरहेको कार्यक्रममा सहभागीहरूको गुनासो छ ।

ज्येष्ठ नागरिकहरूको विषयमा राज्यले छुट्टै ऐन बनाएर व्यवस्थित जीन्दगि जीउने आधार बनाउनुपर्ने स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले बताए ।


किरण राई