सम्भावित झडपलाई रोक्न भन्दै नारायणगढ क्षेत्रमा निशेधाज्ञा

  ०७६ भदौ ९ गते

जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ९ गते सोमबार बिहान ६ बजेदेखि अर्को सूचना नआएसम्मका लागि निशेधाज्ञा जारी गरेको छ ।

हिरासतमा रहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरूबाट हुलदुङ्गा र अशान्ति हुन सक्ने भएकाले निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

भदौ ८ गते राति ९ बजे जारी गरिएको सूचनामा एक ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ ।

पूर्वमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौविसकोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी उत्तरमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम लोकमार्गको चौविसकोठी चोकसम्म र दक्षिणमा वाइपास सडक तर्फो घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।


दिपेन्द्र अधिकारी