समान काममा महिला र पुरूषबिच ज्यालामा विभेद गरिएको श्रमिक महिलाहरूको गुनासो

  ०७६ पुस १४ गते

पुरूष सरह समान काम गर्दै आएको भए पनि समान ज्याला पाउँन नसकेको दार्चुला जिल्लास्थित श्रमिक महिलाको गुनासो रहेको छ ।
मालिकार्जुन गाउँपालिका –६ उकुका लीला तिरूवाले दिनभर काम गरेर २ सय ५० रूपियाँ मात्रै पाउने गरेको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘गाउँमा साहुँको धान रोप्न होस की योजना निर्माणको काम होस । समान काममा पनि पुरूष र महिलालाई दिने ज्यालामा विभेद गरिन्छ ।’
रोपाईको समयमा हलो जोत्ने पुरूषले ८ सय रूपियाँ पाउँदा त्यहि खेतमा काम गर्ने महिलाले भने अढाई सय रूपियाँ पाउने गरेको हलिया वस्तीकी  सरीता टमटाले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो – ‘भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका छन् ।  सकेसम्म योजनाको काममा महिला सहभागि हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदापनि आफुहरूले थोरै ज्यालामा काम गर्नु पर्‍यो । पुरूष र महिला बराबर काम गर्छौ तर रकम दिदा पुरूषबाटै पीडित हुनुपरेको छ ।’
महाकाली नगरपालिका –३ की बिस्ना लोहारले  धार्चुलाबाट दार्चुला बसपार्कसम्म पुरूषले भारी बोक्दा सजिलै २ सय रूपियाँ पाउँदा महिलाले १ सय रूपियाँ माग्दा पनि बार्गेनिङ गर्नु स्थिति रहेको बताउनु भयो ।
दुहु गाउँपालिका –४ की जैमती कुँवरले श्रम अनुसारको ज्याला नपाएकोमा दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘काम अनुसारको ज्याला नै पाइँदैन् । उत्पादन भएको अन्नले वर्षभरि खान पुग्दैन् । बिहान बेलुकीको समस्या टार्न वाध्य भएर न्युन ज्यलामा काम गर्नु परेको छ ।’
हलिया मुक्ति समाज दार्चुलाका अध्यक्ष दानीराम तिरूवाले विगतदेखि नै महिलाहरूले कामको कम मूल्य पाउने गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो –‘हलिया मुक्ति भयो । खलोमा काम गर्ने चलन हट्यो । तर, तिनै मालिकहरूको अहिले दैनिक ज्यालादारीमा काम गर्दा महिलाले थोरै रकम पाउँछन् ।’
जिल्ला दररेट निर्धारण समितिले भने आँठ घण्टा काम गरेबाफत दक्ष कामदारको ९ सय ५० रूपियाँ र अदक्ष कामदारको   ७ सय रूपियाँ ज्याला निर्धारण गरेको  भए पनि दार्चुला जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन् ।


नरेन्द्रसिह कार्की