समाचार सङकलनका क्रममा पत्रकारमाथि प्रहरीद्वारा दुर्व्यवहार

  ०७७ वैशाख २३ गते

पोखरा मनपा–४ स्थित जिल्ला प्रहरी कार्यलय कास्की अगाडी समाचार सङकलनका क्रममा पुगेका पोखरा मनपा–५ मालेपाटन बस्ने ४० वर्षीय पत्रकार प्रेम नेपालीलाई प्रहरीले दुर्व्यवहार गरेका छन् ।

जातिय विभेद घटना सम्बन्धी विषयको समाचार सङकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की गेट अगाडी पुगेका अल न्यूज डट कम सम्पादक तथा नेपाल पत्रकार महासङघ कास्कीका सदस्य समेत रहेका पत्रकार नेपालीलाई प्रहरीले अपशब्द प्रयोग गर्दै क्यामेरा खोस्ने प्रयास गरेका थिए ।

पीडित नेपालीका अनुसार जातिय विभेदको घटनाका लागि दवाब दिन जिल्ला प्रहरी कार्यालय कास्कीको गटेमा पुगेका पीडित पक्षलाई प्रहरीले धम्काउदैं गरेको भिडियो खिच्ने क्रममा दुर्व्यवहार भएको हो ।

‘प्रहरी धम्काउंदै थिए मैले त्यही भिडियो खिच्ने क्रममा मेरो क्यामेरा खोस्ने र धम्कीपूर्ण भाषा प्रयोग गरियो’,पीडित नेपालीले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले लकडाउनका समयमा स्थानीय जनप्रतिनिधि, कानून व्यवासायी र वडाका स्थानीय सहित धेरैजना जिल्ला प्रहरी कार्यालय कास्की अगाडी दवाब दिन आएपछि सम्झाउने क्रममा पत्रकार नेपालीले सोही भिडियो खिचेका बखत अनुमति बिना भिडियो नखिच्न भनिएको जानकारी दिनुभयो ।

‘लकडाउनका समयमा जिल्ला प्रहरी कार्यालय अगाडी दलित जनप्रतिनिधि, जाहेर वाला प्रतिनिधि र केही पत्रकार जम्मा हुनुभएको छ  । अहिलेको समयमा त्यो नै नियम विपरित छ स्वाभाविक रुपमा प्रहरीले सम्झाउने काम गर्छ, त्यही क्रममा उहाँले भिडियो खिच्नुभयो र उक्त भिडियो हटाउन सम्झाइएको हो , धम्काइएको होइन’,–उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत र पत्रकारको भौतिक सुरक्षा प्रति संवेदनशिल बन्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।

 

 


सुशन घिमिरे