समाचार लेखेकै कारण पत्रकारलाई धम्की

  ०७६ असोज ३० गते

नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका कार्यसमिति सदस्य तथा इ–बागलुङ अनलाइनकर्मी ३६ वर्षीय लोकेन्द्र सुनारलाई समाचार लेखेकै कारण असोज ३० गते बिहान अभद्र व्यवहार गर्दै धम्की दिइएको पीडितले आरोप लगाएका छन् ।

बागलुङको बुर्तिवाङमा जारी प्रथम मेयर कप गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेलामा ‘खेलको नाममा पैसा लुट्नेको बिगबिगी’ शीर्षकमा असोज २९ गते इ–बागलुङ अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर मेला आयोजक संस्था बुर्तिबाङ राइजिङ युवा क्लबका उपाध्यक्ष सुरज बिक तथा स्थानीय मोतिलाल बिक ‘मिथुन’, समशेर बिक, भरत बिक र उमेश बिकले धम्की दिएको पीडितले बताए ।

ढोरपाटन–१ बुर्तिबाङस्थित आफ्नो घरमै आरोपितहरू पुगेर उक्त समाचार हटाउन धम्की दिएको र नगरेमा ज्यान असुरक्षित हुने भन्दै त्रास देखाएको पीडित पत्रकार सुनारको भनाई छ ।

समाचार लेखेको विषयमा पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै सोको विरोध तथा पत्रकारको सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाले असोज ३० गते प्रेस विज्ञप्ति जारी गरेको छ ।

महासङ्घ, बागलुङका सचिव राम थापाले हस्ताक्षर गरेकोे विज्ञप्तिमा समाचार लेखेकै कारणले पत्रकार असुरक्षित हुनु दुखद् भएको उल्लेख गरेको छ ।

समाचारप्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रियामार्फत् त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदारहँदै त्यसलाई बेवास्ता गरी पत्रकारलाई धम्क्याउनु र अभद्र व्यवहार गरिनु गम्भीर भएको नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।

कुनैपनि समूह वा व्यक्तिबाट प्रकाशित समाचारलाई लिएर पत्रकारलाई धम्की दिइनु प्रेस स्वतन्त्रता विरूद्धको कार्य भएको बताउँदै शिरीषले यस्ता क्रियाकलापमा संलग्न व्यक्ति वा समूह उपर छानविन र कानुनी कारवाहीका लागि प्रेस विज्ञप्तिमार्फत् जिल्लाका प्रशासनिक निकायको ध्यानाकर्षण गराएको जानकारी दिए ।


सिर्जना पन्त