समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

  ०७४ मङ्सिर २ गते

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले 'चाला गाउँलाई छाला बनाउने भनि धम्की दिएपछि स्थानीयहरू डराएको नाम्खा गाउँपालिका-४ चालाका सोनाम टासी लामाले दुखेसो गरे ।

उनले भने-'चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्नेमा उल्टै यस्तो धम्की दिएर गए । गाउँले डराएका छन् ।'-उनले थपे-'दोस्रो संविधान सभाको चुनावमा उनलाई भोट दिएकै हो । केही परिवर्तन भएको छैन । भोट माग्न आउँदा आश्वासन मात्र दिने ? हाम्रो जिन्दगी जस्ताको तस्तै !'

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नाम्खा गाउँपालिका-४ चाला गाउँमा नेपाली काङ्ग्रेसका उम्मेदवारले हारेको प्रसङ्गलाइ कोट्याउँदै शाहीले धम्की दिएको काङ्ग्रेसकै कार्यकर्ताको आरोप छ ।

'नेपाली काङ्ग्रेसको बाहुल्यता भएको यो क्षेत्रमा तपाइँहरूको आन्तरिक विवादका कारण आफूलाई भोट नहाले चाला गाउँका बासिन्दाको छाला उतारिदिन्छु ।'-शाहीले दिएको धम्कीबारे लामाले भने । चाला गाउँमा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारले जम्मा ६ मत प्राप्त गरेका थिए ।

'अरूले गरेको कामलाई आफूले गरेको दाबी गर्ने नेताहरूले केही गर्लान भनेर त के विश्वास गर्नु ? गर्ने नै भए गाउँमा टेलिफोन सेवा छैन, यतातिर ध्यान दिए हुन्थ्यो ।'-चाला ४ का साङ्गे लामाले भने-' 'गरीबले मात्रै गरीबको पीडा बुझ्छ ।'

यही विषयको समाचार प्रकाशन गरेको भन्दै नयाँ पत्रिका राष्ट्रिय दैनिक र नेपाल टेलिभिजनमा कार्यरत हुम्लाका क्रियाशील पत्रकार नरजङ्ग तामाङले आफूलाई केही अपरिचित नम्बरबाट फोन गरेर धम्क्याएको आरोप लगाएका छन् ।

उनले ९८४८३४२८२९ नम्बरबाट बाराम्बार फोन गरेर जे पनि हुन सक्ने र समाचार किन लेखेको भनेर धम्की दिएको बताए ।

तामाङले आफुलाइ नयाँनयाँ नम्बरबाट फोन गरेर निर्वाचनको बेला जेसुकै हुन सक्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको बताए ।


नन्द सिंह