समाचारको विषयलाई लिएर पत्रकारमाथि दुर्व्यवहार

  ०७६ साउन २४ गते

रेडियो मालिकामा कार्यरत नरहरिनाथ गाउँपालिका–३ बस्ने पत्रकार २८ वर्षीय पुष्पराज भट्टराईलाई समाचारको विषय लिएर खाडाचक्र नपा–२ बस्ने २६ वर्षीया तुलसी नेपालीले साउन २३ गते जिल्ला प्रशासन कार्यालय, कालिकोट अगाडि दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् ।

 

तुलसी नेपालीका पति असल शासन साप्ताहिकमा कार्यरत २८ वर्षीय रमेश नेपालीले जिल्ला घरेलु कार्यालयबाट रकम मागेको समाचार रेडियो मालिकामा प्रशारण गरेको भन्दै हातपात गर्नुका साथै दुर्व्यवहार गरेको आरोप पीडित भट्टराईको रहेको छ ।

 

‘पत्रकारको नाममा रकम माग्दै’ विषयक समाचार साउन २२ गते बेलुका रेडियो मालिकामा प्रसारण भएको थियो ।

 

झुठो समाचार लेखेर मानहानी गरेको भन्दै तुलसी नेपालीले प्रशासनकै अगाडि चप्पल प्रहार गर्नुका साथै गालीगलौज गरेको भनी पीडित भट्टराईले आरोपितका विरूद्ध साउन २३ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी विनोद शर्माले समाचारको विषयलाई लिएर पत्रकारमाथि हातपात गर्नु गलत भएको बताउँदै पीडितको उजुरीका आधारमा घटनामाथि अनुसन्धान गर्ने जानकारी दिए ।


कालीबहादुर मल्ल