समयमै सेवा प्रवाह नहुँदा समस्या झेल्नु परेको स्थानीयहरुको गुनासो

  ०७७ असोज २३

जिल्ला प्रशासन कार्यालय, डोटीमा  दरबन्दी अनुसारका कर्मचारी नहुँदा समयमै सेवा प्रवाह हुँन नसक्दा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कायालय, डोटीमा  दुई जना शाखा अधिकृतको दरबन्दी रहेको भएपनि रिक्त रहेकोले सेवाग्राहीहरुले सेवा नलिकन नै घर फर्किनु पर्ने बाध्यता रहेको दिपायलसिलगडी नपा–६ सिलगढीका स्थनीय नितेस बोहराले  गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–  ‘लामो समयदेखि दुई जनाको काम शाखा अधिकृत शिबकुमार राईले गर्दै आउनु भएको थियो । उहाँ पनि सरुवा भएर गएपछि सेवाग्राहीले झन सास्ती व्यहोर्नु परेको छ ।’

नागरिकताको प्रमाण–पत्र बनाउन आएको भएपनि सेवा प्रवाहमा ढिला हुने गरेकोले एक हप्तासम्म पालो कुरेर बस्न बाध्य भएको बोगटान फुडशिल गाउँपालिकाबाट नागरिकता प्रमाण–पत्र बनाउन आएका दिपकबहादुर धामीले दुखेसो पोख्नु भयो  ।

उहाँले भन्नु भयो–  ‘फाँटमा कर्मचारी नै हुदैनन् ।  नागरिकता बनाउनकै लागि दुईदेखि एक हप्तासम्म सदरमुकाममै बस्नु पर्ने बाध्यता छ । गाउँबाट आएका हामी जस्ता सेवाग्राहीलाई सदरमुकाममा खान र बस्नसमेत समस्या हुँने गरेको छ ।’

जिल्ला प्रशासन कार्यालय, डोटीमा नागरिकता बनाउन आएका केआईसिंह गाउँपालिका–४ वायलका रकेश खत्रीले फाँटमा कर्मचारी अभावका कारण नागरिकताको प्रमाण–पत्र पाउन आफूले तीन दिन कुर्नु परेको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–  ‘सेवा लिन आउनेको सङ्ख्या धेरै छ । कार्यालयमा कर्मचारी नै छैनन् । सेवा लिन आउँदा पालो कुर्नु पर्ने बाध्यता छ । दिनभरी लाइनमा बस्दासमेत पालो नआइ कार्यालय बन्द हुन्छ । गाउँबाट आउनेहरुलाई समस्या हुँने गरेको छ ।’

जिल्ला प्रशासन कार्यालयमा २०७५ सालदेखि रिक्त रहेको सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी लामो समयदेखि रिक्त रहेको बताउँदै कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीहरुलाई सहज र समयै सेवा प्रवाह गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनु भयो ।

उहाँले भन्नु भयो–  ‘रिक्त रहेका दरबन्दी पुर्तिका लागि मन्त्रालय र विभागमा पटकपटक अनुरोध गरिएको छ । मन्त्रालय तथा विभागबाट सम्बोधन गरिएको छैन् । कर्मचारी नपठाउँदा नागरिकतादेखि अन्य सेवाहरु प्रवाह गर्न समस्या भएको छ ।’


बासुदेब जोशी