समयमै सामाजिक सुरक्षा भत्ता नपाएका ज्येष्ठ नागरिकले मागे इन्सेकको सहयोग

  ०७७ मङ्सिर १८ गते

सिम्रोनगढ नगरपालिकाको कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा वितरण गर्न पर्ने सामाजिक सुरक्षा भत्ता वितरण नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।

प्रथम चौमासिक रकम मुख्य चाडपर्वमा वितरण नगरेकाले ज्येष्ठ नागरिकहरूले मङ्सिर १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई सोको लागि पहल गरिदिन निवेदन दिएका छन् ।

निवेदन आएपछि पौडेलले नगरपालिकाका कर्मचारी र मेयर विजयशङ्कर यादवसँग छलफल गरी निकास निकाल्न आग्रह गर्नु भएको थियो । सो क्रममा मेयर यादवले एक महिनाभित्र सबैलाई सामाजिक सुरक्षा भत्ता दिइसक्ने बताउनु भएको छ ।

मङ्सिर १५ गतेसम्ममा आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता नपाएको सोही नगरपालिका–७ पर्साटोलका ७६ वर्षीय कदमसरिफ अन्सारीले बताउनु भयो ।
photo20201203bara
उहाँले नगरपालिकाको कार्यालयले माग गरेका सबै कागजात दिए पनि चाडपर्वमा आफू र बच्चाहरूलाई कपडा किन्न नपाएको र औषधि खान सापटी लिएर काम चलाएपनि कहिले भुक्तानी हुने हो ? अन्यौल रहेको बताउनु भयो ।

ज्येष्ठ नागरिकको नाम कम्यूटरमा लेख्ने काम नगरपालिकाका कर्मचारीको भएकाले सोही बाहाना बनाएर भत्ता नदिनु दुःखद् भएको सोही टोलका ७७ वर्षीय जोखुमियाँ अन्सारीले बताउनु भयो ।

उहाँले मङ्सिर ३ गते नगर प्रमुख विजयशङ्कर यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालसँग सामाजिक सुरक्षा भत्ता निकासा गर्न अनुरोध गर्दा बेवास्ता गरेको आरोप लगाउनु भयो ।

सोही टोलका ७७ वर्षीय अब्दुलरहमान अन्सारी, ८३ वर्षीय बिगु मियाँ र ८५ वर्षीय माझी मियाँले इन्सेक बारा प्रतिनिधिलाई पहल गरिदिन निवेदन दिनुभएको हो ।

सोही टोलका ७७ वर्षीय बेराहीमियाँ अन्सारी, १०१ वर्षीय इजरायल अन्सारी, ७५ वर्षीया सविवन खातुन, ७२ वर्षीया नजबुन खातुन, ८३ वर्षीया लतिफा खातुनलगायतले नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता नदिएको गुनासो गर्नु भएको छ ।

सामाजिक सुरक्षा भत्ता नदिएपछि पर्व मनाउन, औषधि उपचार गर्न नपाएको गुनासो ज्येष्ठ नागरिकको रहेको छ ।

सामाजिक सुरक्षा र बालसुरक्षा भत्ता पाउने लाभग्राहीको बैङ्क खाता नं. वडा नं. १ को कार्यालयले नपठाएकाले सो वडामा भत्ता नगएको सिम्रोनगढ नगरपालिका पञ्जिकरण शाखाका एमआइएस अपडेटर रजनिकान्त यादवले बताउनु भयो ।

उहाँले वडा नं. २ का ज्येष्ठ नागरिकको मोबाइल नम्बर, बालपोषण नामावली र बैङ्क खाता नं. नआएकाले निकाशा नभएको बताउनु भयो ।

वडा नं. ३ को बाल पोषण पाउने लाभग्रहीको नाम कम्प्युटरमा इन्ट्री भइरहेको साथै बैङ्क खाता नं. नभएकाले निकाशा नभएको बताउनु भयो ।

वडा नं ४ का बालपोषण प्राप्त गर्ने नामावली वडा कार्यालयबाट नआएको बैङ्क खाता नं. नभएकाले निकाशा नभएको एमआरएस अपडेटर सञ्जय जयसवालले बताउनु भयो ।

वडा नं ५ मा रहेका बालपोषण लाभग्राहीहरूको नामावली तयार भइरहेको र बैङ्क खाता नम्बर नभएकाले वितरण नभएको उहाँले बताउनु भयो ।

वडा नं ६ मा रहेका बालपोषण भत्ता पाउने लाभग्राहीको नामावली तयार भइरहेको साथै बैङ्क खाता रुजुगर्ने कार्य बाँकी रहेको उहाँले बताउनु भयो ।

वडा नं. ७, ८, ९ र १० मा बालपोषण प्राप्त गर्ने लाभग्राहीको नामावली तयार भइरहेको, कागजात स्पष्ट नभएको र बैङ्क खाता पञ्जिकरण शाखालाई उपलव्ध नभएकाले निकासा नगएको उहाँले बताउनु भयो ।

वडा नं ११ को वडा कार्यालयले लाभग्राहीको बैङ्क खाता नम्बर र कागजात नपठाएको साथै लाभग्राहीको बुबाको नाम आवश्यक भएको ठाउँमा पतिको नाम लेखी पठाएकाले समयमा निकासा दिन नसकेको सिम्रोनगढ नगरपालिका पञ्जिकरण शाखाका एमआइएस अपडेटर रजनिकान्त यादवले बताउनु भयो ।

सेवाग्रहीले नगरपालिकाको कार्यालयलाई चाहिने आवश्यक कागजात समयमा नबुझाएकाले वडा सचिवहरूले समयमा विवरण सङ्कलन गर्न नसकेको र पञ्जिकरण शाखाले सेवाग्राहीको विवरण अध्यावधिक गर्न नसकेकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले बताउनु भयो ।


अनलाइन डेस्क