समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

  ०७६ भदौ ३० गते

समयमै उपचार नपाउँदा जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रको शिवनाथ गाउँपालिका-१ गाउँसल्लामा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दानसिंह चाँडकी २१ वर्षीया पत्नी गौमती चाँड रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख इन्स्पेक्टर किसन चन्दले बताए ।

शनिबारबाट सुत्केरी व्यथा लागेकी गौमतीले समयमै स्वास्थ्य सेवा नपाउँदा मृत्यु भएको स्थानीय दिपक चाँडले बताए ।

आइतबार दिउसो स्थानीय सामुदायिक स्वास्थ्य एकाई तेर्छाबाटामा शिशु जन्मने बित्तिक्कै गौमतीको मृत्यू भएको प्रहरीको भनाई छ ।

जन्मिएको शिशुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक महिलाका पति रोजगारीको लागि भारतमा छन् ।

सिगास गाउँपालिका र तल्लोस्वराड क्षेत्रका स्थानीय तहहरूमा सुलभ स्वास्थ्य सेवाको अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बैतडीका प्रमुख निशा जोशीले बताए । यी क्षेत्रहरूमा औषधि लगायत कर्मचारीको पनि उतिच व्यवस्था हुन सकेको छैन ।

तल्लो स्वराड क्षेत्रका शिवनाथ र पञ्चेश्वर गाउँपालिका सडक सञ्जालमा जोडिएपनि एम्बुलेन्सको व्यवस्था छैन ।

जसका कारण आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले समस्या भोग्नुपरोको स्थानीय मोहन चन्दको भनाई छ ।

चन्दका अनुसार भाडाका गाडीहरूले 'छुइन्छ' भन्दै सुत्केरी महिलालाई बोक्न समेत नमान्ने गरेको उनको भनाई छ ।


नरी बडु