सभामुखका उम्मेदवार सापकोटा विरुद्ध सर्वोच्चमा रिट दर्ता

  ०७६ माघ ११ गते

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित गर्ने प्रक्रिया रोक्न र गिरफ्तार गरी अनुसन्धान अघि बढाउन माग गर्दै माघ १० गतेसर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ । प्रतिनिधि सभामा रिक्त सभामुखको पदमा संसद सचिवालयले तय गरेको निर्वाचन प्रकृयामा माघ ९ गते सापकोटाको एकल उमेदवारी परेको छ । सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधि सभामा निर्वाचन हुँदैछ ।

सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन माओवादीका कार्यकर्ताको अपहरणमा परेका काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा सापकोटा विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको वा नपरेको बारे सोधेको थियो ।  सापकोटालाई सभामुख नबनाउन माग गर्दै अधिकारबादी संस्थाहरूले विरोध प्रर्दशन गर्दै आएका छन् ।


विमला पौडेल