सबै मतदान केन्द्र अति सम्वेदनशील र सम्वेदनशील

  ०७४ भदौ २० गते

सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदान स्थलका सबै ४ सय ६२ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

२ सय ७ मतदान स्थलका ३ सय २४ मतदान केन्द्र अति सम्वेदनशील र ८८ मतदान स्थलका १ सय ३८ मतदान केन्द्र सम्वेदनशील रहेको सप्तरी जिल्लाको कुनै पनि मतदान केन्द्र सामान्य नरहेको कार्यालयले जनाएको छ ।

 

२ सय ९५ ओटा मतदान स्थल र ४ सय ६२ ओटा मतदान केन्द्र रहेको सप्तरीमा निर्वाचनलाई लक्षित गरी ३ हजार ९ सय ३५ नेपाल प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र त्यसको पछाडि नेपाली सेना पनि परिचालन गरिने जनाउँदै सुरक्षा अनुगमनका लागि हवाई गस्तीसमेत हुने जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

 

सुरक्षा सम्वेदनशील जिल्लाको रूपमा रहेको सप्तरीमा इन्स्पेक्टर, सई, असई गरी ३ हजार १ सय ५० जनशक्ति थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इन्स्पेक्टरको कमाण्डमा नौ ओटा नगरपालिकामा १८ ओटा तथा नौ ओटा गाउँपालिकामा नौ ओटा गरी २७ ओटा मोबाइल गाडीले गस्ती गर्ने बताइएको छ ।

 

एसपी सिंहका अनुसार प्रत्येक मतदान स्थलमा सई वा असईको नेतृत्वमा न्युनतम ११ जना प्रहरी खटाइने छ ।

 

राजपा नेपालले निर्वाचनमा भाग लिएपछि निर्वाचन केही सहज भएपनि पार्टी भित्रको आन्तरिक विवाद, अस्वस्थ्य प्रतिस्पर्धा, निषेधको राजनीतिसँगै सशस्त्र समूहको चुनौती रहेको जिल्लाका सबै केन्द्रहरूमा सुरक्षा व्यावस्था मजबुद पारिएको र पर्याप्त मात्रामा गस्ती टोली परिचालित गर्ने योजना बनाइएको एसपी सिंहले बताए ।

 

नौ नगरपालिका र नौ गाउँपालिकासहित १८ स्थानीय तह रहेको सप्तरीमा आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि राजविराजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सम्बन्धित गाउँपालिका र नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरेर निर्वाचन कार्यक्रमहरू अगाडि बढाइएको जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले बताए ।

 


मनोहरकुमार पोखरेल