सबै जिल्लाबाट मतदानस्थलको विवरण प्राप्तः निर्वाचन आयोग

  ०७३ चैत ३० गते

स्थानीय तहको निर्वाचनका लागि मुलुकका ७५ जिल्लाबाट मतदानस्थलको यकिन विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार चैत २९ गते सिरहा र सप्तरीबाटसमेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको राससले जनाएको छ ।

आयोगका अनुसार सिरहामा २ सय १८ र सप्तरीमा २ सय ९२ मतदानस्थल रहने छन् । केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण आयोगलाई प्राप्त भएको थियो ।

स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने व्यवस्था रहेको छ ।

निर्वाचन केन्द्रको सङ्ख्या भने मतदाता सङ्ख्याको चापलाई दृष्टिगत गरी निर्धारण गरिने आयोगले जनाएको छ ।

त्यसैगरी निर्वाचन आचारसंहिता समितिसमक्ष पेश भएका १ हजार ९६ निवेदनमध्ये १ हजार ३४ को हुन्छ वा हुन्न भन्ने ढङ्गबाट फरफारक भइसकेको राससले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आचारसंहिता लागु भएपछिको यो अवधिमा आयोगमा सबैभन्दा धेरै सहमति मागको निवेदन परेका छन् ।

८ सय १४ निवेदन सहमति माग सम्बन्धमा रहेकामा त्यसमध्ये काज ५२, सरुवा ९५, बढुवा ३६, स्वदेश भ्रमण ६३, विदेश भ्रमण ३ सय १४ रहेको छ । आयोगले ३६ काज, ४९ सरुवा, २२ बढुवा, ४० स्वदेश र १ सय ७७ विदेश भ्रमणलाई सहमति दिएको जनाएको छ ।

त्यस्तै, काज पाँच, सरुवा ३४, बढुवा तीन, स्वदेश भ्रमण १४ र विदेश भ्रमणसम्बन्धी ९९ निवेदनलाई सहमति नदिइएको जनाइएको छ ।

सम्बन्धित निकायमा ३८ वटा पत्रबारे थप विवरण खुलाएर पठाउन भनेको तथा १३ उजुरी र १७ निवेदन तामेलीमा राखिएको आयोगले जनाएको छ । आयोगमा परेका १३ वटा बेनामे उजुरीबारे भने अनुसन्धान भइरहेको जनाइएको छ ।


अनलाइन डेस्क