सबैला नगरपालिकाको आठ ओटा स्वास्थ्य चौकीमा औषधी अभाव

  ०७७ असार २७ गते

सबैला नगरपालिकाको आठ ओटा स्वास्थ्य चौकीमा औषधी अभाव भएको छ । सबैला नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा औषधी खरिदको लागि ३५ लाख रुपियाँ बजेट छुट्याइएको भएपनि असार २७ गतेसम्म औषधी खरिद गरी आपूर्ति गर्न नसकेका कारण औषधी अभाव भएको सबैलाका स्वास्थ्य संयोजक रामदुलार यादवले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।

नेपाल सरकारको स्वास्थ्य सेवाको प्रावधान अनुसार स्वास्थ्य चौकीमा ३५ प्रकारको औषधी निःशुल्क जनतालाई दिने भनिएपनि सबैला नगरपालिकाको स्वास्थ्य चौकीमा हाल जीवन–जल, पारासिटामोल, बेटाडिन तथा विभिन्न एन्टिबायोटिक औषधी लगायतको कुनै पनि औषधी नभएकाले स्वास्थ्य चौकीमा आउने बिरामीहरूलाई औषधी उपचार गर्न समस्या भइरहेको सबैला नपा–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रामदेव यादवले गुनासो गर्नु भएको छ ।

स्वास्थ्य चौकीहरूमा नगरपालिकाले औषधी आपूर्ती गर्न नसक्दा आफूहरूले विरामीलाई नीजि क्लिनिक र औषधी पसलबाट आवश्यक पर्ने औषधी खरिद गराउनु पर्ने बाध्यता रहेको डा. यादवले बताउनु भयो । डा. यादवले अस्पतालमा नयाँ आर्थिक वर्षमा नगरपालिकाले औषधी नपठाएको कारण बिना औषधीको स्वास्थ्य चौकीमा बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

नेपाल सरकारले आफ्नो नागरिकलाई प्राथमिक स्वास्थ्य उपचारका लागि निःशुल्क पहुँच हुने भनिएपनि सबैला नगरपालिकाले औषधी खरिद नगर्दा आफूहरूलाई सामान्य उपचारको लागि समेत नीजि क्लिनिक र अस्पतालमा जानुपर्ने बाध्यता रहेको सबैला नपा–३ बस्ने सुशिल राउतले गुनासो गर्नु भयो ।

सबैला नपा–३ बस्ने ३० वर्षीय सत्यनारायण यादवले आफूलाई असार २४ गते अचानक साइकलबाट लड्दा खुुट्टाको औँलामा घाउँ भयो, उपचारको लागि प्राथमिक स्वास्थ्य चौकीमा उपचार गराउन जाँदा चिकित्सकले स्वास्थ्य चौकीमा औषधी र पट्टीको सामग्री नभएको भन्दै नीजि क्लिनिकबाट खरिद गर्न लगाएको गुनासो गर्नु भएको छ ।

निःशुल्क स्वास्थ्य उपचार पाउने आशामा स्वास्थ्य चौकीमा गएपनि औषधी अभावले बाहिरबाट खरिद गर्नु पर्ने बाध्यता रहेकाले सबैला नगरपालिकाका जनताको स्वास्थ्य सेवाप्रति उत्तरदायि नदेखिएको बताउनु भयो ।

यता, सबैला नगरपालिकाका नगर प्रमुख विजयशङ्कर साहले नगरपालिकामा आन्तरिक विवादले औषधी खरिद गरी स्वास्थ्य चौकीमा आपूर्ती हुन नसकेको स्विकार गर्नु भयो । उहाँले भन्नु भयो–“ढिलै भएपनि असारको अन्तिम सम्ममा नगरपालिकाले स्वास्थ्य चौकीहरूमा औषधी आपूर्ति गर्ने छौं ।”


दीपेन्द्रप्रसाद सिंह