सबैको लागि शिक्षाको पहुँच उपलब्ध गराउने नगरपालिकाको प्रतिबद्धता

  ०७६ वैशाख २४ गते

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र बसोबास गर्ने सबै बालबालिकाहरूका लागि सहज रूपमा शिक्षाको पहुँच उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा वैशाख २४ गते वीरेन्द्रनगरमा आयोजना गरिएको वीरेन्द्रनगर नगरपालिकाको शिक्षाको सवाल र समाधानमा सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले सो प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख सुवेदीले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्ने चर्चा गर्दै नगर भित्र बसोबास गर्ने कुनै पनि नागरिकका बालबालिका विद्यालय जान नसकेको पाइएमा उनीहरूलाई नगरपालिकाले नै निःशुल्क शिक्षा उपलब्ध गराउने बताए ।

वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूमा शिक्षक र कर्मचारीहरूले प्रयोग गर्ने शौचालयमा ताला लगाइएको र विद्यार्थीहरूले प्रयोग गर्ने शौचालय खुल्ला भएको कारण शौचालय व्यवस्थापनमा समस्या आएको बताउँदै प्रमुख सुवेदीले भने–‘यो विद्यालय प्रशासनको कमजोरी हो । यसलाई तत्काल सधार गर्नुपर्छ ।’

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर शिक्षा एकाईका शाखा अधिकृत उत्तम आचार्यले ‘स्थानीय स्तरमा शिक्षा सम्बन्धी सरकारी नीति र स्थानीय शिक्षाको अवस्था प्रतिवेदन’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र तथा इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूहले पहिचान गरेको शिक्षाका सवालहरूको बारेमा टिप्पणी गर्दै कार्यक्रमका सहभागीहरूले वीरेन्द्रनगर नपाका सामुदायिक विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिएको भन्दै सो प्रति आपत्ति जनाएका थिए ।

सोही कार्यक्रममा बोल्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले शिक्षा क्षेत्रमा देखा परेका समस्याहरू समाधान गर्न जनप्रतिनिधि, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, अभिभावक, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि र नागरिक समाजको सामूहिक बुझाई हुनुपर्ने औँल्याउँदै यसका लागि सबैपक्ष एकजुट हुनुपर्ने बताएका थिए ।

Photo20190507Surkhet03


दुर्गा थापा